काठमाडौं-सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।
भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रकरणमा अख्तियारले महरासँग बयान लिएको हो।
महरा बिहीबार टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा बयान दिन पुगेका हुन्।
अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिका भूमिकाको अनुसन्धान गरिरहेको र महराको पनि सोही सन्दर्भमा बयान लिइएको जनाएको छ। अनुसन्धान अधिकारीका अनुसार महरासँग सोधपुछपछि आवश्यक विवरणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइनेछ।
यसअघि महरालाई सोही मुद्दामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । उनका छोरा राहुल महरा पनि यसअघि यसै प्रकरणमा पक्राउ परेका थिए ।
२०७९ पुषमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेपको बट्टाभित्र लुकाइएका नौ किलो सुन बरामद भएपछि प्रकरणले राजनीतिक तहसम्म तरंग ल्याएको थियो ।







प्रतिक्रिया