काठमाडौं-इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन्।
अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।
इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउनुभयाे । तर, अहिलेसम्म ठोस जानकारी केही नपाएको उहाँले बताउनु भयाे।
राजदूत पण्डितले भन्नुभयाे, ‘अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन। उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं।’ परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको तर थाहा हुन नसकेको बताउँछन्। मन्त्रालयका एक कर्मचारी विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउनसक्ने बताउँछन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए। तर त्यसपछि उनको अवस्था अज्ञात छ। बुधबार बेलुका सार्वजनिक गरिएको ३३ सेकेण्डको भिडियो पनि त्यतिबेलैको पुरानो भएको इजरायलका लागि नेपाली राजदूत पण्डित बताउनुहुन्छ।







प्रतिक्रिया