अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामी सडकमा बोलिरहेका छौँ, तर सरकार कानमा तेल हालेर बसेको छ: कमल सुवेदी

हामी सडकमा बोलिरहेका छौँ, तर सरकार कानमा तेल हालेर बसेको छ: कमल सुवेदी


काठमाडौं-२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मारिएका शहीदहरूको परिवारले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन्।

शहीद परिवारका सदस्य कमल सुवेदीले शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको उदासीनताप्रति गम्भीर आपत्ति जनाउनुभयाे।

सुवेदीले भन्नुभयाे ‘जो जेनजी होइनन्, उनीहरू राष्ट्रपतिसँगको छलफलमा सहभागी भएका छन्। तर हामी शहीद परिवारका कसैलाई छिराइएको छैन। हामीलाई अहिलेसम्म कुनै औपचारिक छलफलमा समेत राखिएको छैन।’

सुवेदीले जेनजी आन्दोलनबाटै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले समेत पीडित परिवारलाई बेवास्ता गरेको बताउनुभयाे।

‘प्रधानमन्त्री सुशीला कार्कीले न त हामीलाई न्याय दिन सक्नुभयो, न हाम्रो माग पूरा गर्न सक्नुभयो। आजसम्म उहाँले एउटा छलफलका लागि पनि बोलाउनुभएको छैन्,’ सुवेदीले भन्नुभयाे।

गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भन्नुभयाे, ‘गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन। हामी सडकमा बोलिरहेका छौँ, तर सरकार कानमा तेल हालेर बसेको छ।’

उहाँले जेनजी आन्दोलनका अपराधीलाई कारबाही गर्ने भन्दै गठित छानबिन आयोगको प्रभावकारितामाथि पनि प्रश्न उठाउनुभयाे।

‘न्याय खोज्दाखोज्दै हामी थाकिसक्यौँ। छानबिन आयोग त बनाइयो, तर खै त ? आजसम्म कसैलाई कारबाही गरिएको छैन,’ सुवेदीले आक्रोश पोख्दै भन्नुभयाे।