घोराही-नेकपा (एमाले) दाङको जनसंगठन समन्वय संयन्त्रले भोलि आइतबार घोराहीमा आयोजना गर्न लागेको शान्तिपूर्ण बृहत् जनजागरण सभाको तयारी पूरा भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कार्बाही र नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति र लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै पार्टीको जनसंगठन समन्वय संयन्त्रको आयोजनामा घोराहीमा शान्तिपूर्ण जनजागरण सभा हुन लागेको हो ।
संयन्त्रका संयोजक मनोहर बुढाथोकीले कार्यक्रमको तयारी सबै पूरा भएको जानकारी दिए । हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरताकातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध शान्तिपूर्ण जागरणसभाको आयोजना गरिएको संगयोजक बुढाथोकीले बताए ।
जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, व्यक्ति हत्या, कुटपिट, लुटपाट, आक्रमण, सार्वजनिक सम्पत्ति आगजनी, व्यक्तिगत सम्पत्ति आगजनी र तोडफोड लगायतका घटनाको निश्पक्ष छानबिन गरेर घटनामा संलग्नको पहिचान गरी कार्बाही गर्नुपर्ने, विधिको शासन र संविधानको रक्षा, राष्ट्रिय हित, स्वाभिमानको संरक्षण, भूमिहीन सुकुम्बासीको न्याय, सुरक्षाकर्मी तथा कर्मचारीहरुको मनोबल उच्च बनाउन र आन्दोलनको नाममा देखिएको अराजकताविरुद्ध सबैलाइ एक हुन आह्वान गरिएको छ । वर्तमान सरकारले जेनजी आन्दोलनका क्रममा भएका जति पनि घटना छ्न् त्यसमा पक्षपातपूर्ण ढंगले अघि बढ्न खोजेको प्रति सरकारको ध्यानाकर्षण गराउने पनि जागरणसभाको उदेश्य रहेको छ ।
एमालेले सधैं राष्ट्रियता, जनजीविका र सुशासनका पक्षमा रहेको र आवाज उठाउँदै आएको स्मरण गराउँदै जनअधिकार तथा राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्ने पनि कार्यक्रमले सन्देश दिने बुढाथोकीले बताए । साथै, सुरक्षाकर्मीहरुको सयौं हातहतियार, गोलीगठ्ठा बाहिरै रहेको तथा सयौं कैदीबन्दी जेल बाहिर रहेकाले समाज त्रसित अवस्थामा रहेकाले त्यसतर्फ सरकारलाई थप संवेदनशील बन्न आग्रह समेत गरिनेछ । कार्यक्रमलाई सफल बनाउनका लागि दाङका सबै पालिका र वडाहरुबाट नेताकार्यकर्तासँगै जेनजी युवापुस्ताको व्यापक सहभागिता रहनेछ ।
घोराहीको ट्राफिक चोकमा बिहान ११ बजे जम्मा भएर र्याली सुरु भएर बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर समापन हुनेछ । जिल्ला प्रशासन र प्रहरी प्रशासनको समन्वय र शान्तिपूर्ण कार्यक्रम हुनेछ । कार्यक्रममा उपस्थितिका लागि समेत सबैमा संयोजक बुढाथोकीले अपिल गरेका छन् ।







प्रतिक्रिया