अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीसँग पार्टी एकता गर्ने माधव नेपालको यात्रामा झलनाथको ब्रेक

माओवादीसँग पार्टी एकता गर्ने माधव नेपालको यात्रामा झलनाथको ब्रेक


काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालले माओवादीसँग गर्न लागेको पार्टी एकतामा ब्रेक लगाउने बताउनुभएको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै कहिले काँग्रेसको पुच्छर त कहिले माओवादीको पुच्छर हुने कुरा उपयुक्त नभएको बताउनुभएको छ ।
श्रीमतीको उपचारका लागि भारतको नयाँ दिल्लीमा रहनु भएका खनालले पार्टीभित्र नयाँ प्रकारको पुनर्गठन र रूपान्तरण आवश्यक रहेको भन्दै सबै क्रान्तिकारी, वामपन्थी तथा प्रगतिशील शक्तिहरूलाई एकै ढाँचामा गोलबद्ध हुन आहवान गर्नु भएको छ ।

श्रीमती उपचारको क्रममा भारतमा रहेका उनले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पार्टीलाई सशक्त, आमूल परिवर्तनकारी र नेपाली विशेषताको साम्यवादका निम्ति दृढ संकल्पित बनाउनुपर्ने बताउनभएको छ ।

खनालले गत २३–२४ भदौका घटनापछि राजनीतिक परिदृश्य तीव्र रुपमा परिवर्तन भएको र अहिले देशको राजनीति आगामी निर्वाचनतर्फ केन्द्रित भएको उहाँले बताउनुभयो । खनालले पार्टीभित्र प्राथमिक रूपमा चार वर्षे विद्रोह यात्राको निर्भिक समीक्षाको आवश्यकता औँल्याउँदै कुबेलाको सहनाई नबजाउन अध्यक्ष नेपाललाई चेतावनी दिनुभएको छ । खनालले अहिले पार्टी एकीकरणको समय नभएको उल्लेख गर्नुभएको छ ।

उहाँले वर्तमान आन्दोलनलाई केवल आवेग वा बाह्य षड्यन्त्र मात्र नभई दुईतिहाइ बहुमत हुँदै प्रधानमन्त्रीत्व सम्हालेका नेतृत्वहरूको असफलता र समग्र राजनीतिक नेतृत्वको जिम्मेवारी असफलतासँग जोड्दै यसलाई ऐतिहासिक अवसरका रुपमा पनि व्याख्या गर्नुभयो । खनालले वामपन्थी दलहरूले नै जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्नेमा जोड दिँदै केही नेतृत्वहरू यथास्थितिवादमा लाग्दा राष्ट्रिय हित र सामाजिक(आर्थिक रूपान्तरणमा ढिला भएको टिप्पणी गर्नुभएको छ ।