काठमाडौं-इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ।
केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिनुभयाे।
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराउनु भयाे । उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उहाँले बताउनुभयाे।
‘हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,’ राजदूत पण्डितले भन्नुभयाे, ‘त्यसपछि अमेरिकामा रहेकी उहाँकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।’
पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। उहाँले भन्नुभयाे, ‘हामी घटनाका सबै विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं।’
अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम तय गरिएको थियो। तर, आज सार्वजनिक गरिएको २० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश थिएन।
कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए। उनी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
सन् २०२३ नोभेम्बर १७ मा विपिनलाई गाजाको अल–शिफा अस्पतालमा जीवित देखिएको रिपोर्ट सार्वजनिक भएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै ठोस जानकारी आएको थिएन।
गत बुधबार मात्र विपिनको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो, जसले आशा पलाएको थियो। तर आज इजरायली सेनाले विपिन जीवित नरहेको पुष्टि गरेपछि परिवार र समग्र नेपाली समुदाय शोकमा डुबेका छन्।
विपिनको अवस्थाबारे जानकारी पाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल पुगेका थिए।






प्रतिक्रिया