अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी


काठमाडौं-राष्ट्रिय सभाको निर्वाचन २०८२ माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचन आयोगका आयुक्तहरूसँग यही असोज २१ गते छलफल गर्नुभएको थियाे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए ।

आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो । जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराएका थिए ।

आगामी फागुन २० मा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल सकिंदैछ । राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनीत गर्छन् ।

आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।