अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जेनजी’को उग्र प्रदर्शनपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे

‘जेनजी’को उग्र प्रदर्शनपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे


काठमाडौं – हिन्द महासागरको पूर्वी तटमा अवस्थित अफ्रिकी टापु देश माडागास्करमा हप्ताभरि चलेको जेनजी युवाहरूको उग्र विरोध–प्रदर्शनपछि त्यहाँका राष्ट्रपति आन्द्रे राजोएलिना देश छाडेर भागेका छन् । राजोएलिनाले एक दिनअघि आइतबार सेनाको सहयोगमा देशमा ‘कू’ को प्रयास भइरहेको दाबी गरेका थिए ।

जेनजीको विद्रोह र सत्ताको शीर्ष पदमा बसेका राजनीतिक अधिकारीले पद छोडेको पछिल्लो उदाहरण हो । गत महिना जेनजीको ठूलो विरोध–प्रदर्शनपछि नेपालमा प्रधानमन्त्रीले पद त्याग गरेका थिए ।

रेडियो फ्रान्स इन्टरनेसनलका अनुसार, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको अनुरोधमा आइतबार एक फ्रान्सेली सैन्य विमानले राष्ट्रपति आन्द्रे राजोएलिनालाई त्यहाँबाट सुरक्षित रूपमा निकालेका हुन् । यसअघि माडागास्करस्थित फ्रान्सेली दूतावासले आफ्नो पूर्वउपनिवेशमा कुनै पनि सैन्य हस्तक्षेपबाट इन्कार गरेको थियो ।

ब्लुमबर्गको रिपोर्टमा फ्रान्सको राष्ट्रपति कार्यालय र विदेश मन्त्रालयले यसमा टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल कुनै जवाफ नदिएको भनिएको छ ।

पानी–बिजुलीको अभावमा सुरु भएको थियो प्रदर्शन

हजारौँ जेनेरेसन जी जेनजी प्रदर्शनकारीहरूले गत महिना सडकमा उत्रिएर पानी र बिजुलीको अभावलाई लिएर प्रदर्शन सुरु गरेका थिए ।

त्यसक्रममा युवाहरूको सुरक्षा बलसँग झडप पनि भएको थियो, जसमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो । यी युवाहरू देशमा आधारभूत सेवाहरूको अभाव र सरकारी भ्रष्टाचारलाई लिएर सरकारसँग असन्तुष्ट थिए ।

युवाहरूको आक्रोश र यो प्रदर्शनको सिलसिलाले मोरक्को, इन्डोनेसिया, नेपाल र केन्या जस्ता देशहरूमा सत्ताधारी अभिजात वर्गविरुद्ध हालै भएका विरोध प्रदर्शनहरूको याद दिलाउँछ ।

राजोएलिनाले पहिलोपटक २००९ मा सेनाको समर्थनमा सत्ता कब्जा गरेका थिए । यद्यपि, उनले २०१४ मा पद छोडेका थिए तर २०१८ मा चुनाव जितेर फेरि राष्ट्रपति पद कब्जा गरे र त्यसपछि २०२३ मा एक विवादास्पद मतदानमा अर्को कार्यकाल हासिल गरे ।

तर, हालैको विरोध–प्रदर्शनका कारण ५१ वर्षीय राजोएलिना सत्ताबाट टाढा भएका छन् । सेनाको एक विशेष इकाईले राष्ट्रपतिको बिदाइमा अहम भूमिका खेलेको छ ।

यो विशिष्ट सैन्य इकाईले प्रदर्शनकारीहरूको पक्ष लिएको थियो । क्याप्स्याट नामले चिनिने यो समूहले १६ वर्षअघि राजोएलिनालाई पहिलोपटक राष्ट्रपति पदसम्म पुर्‍याउन सहयोगी बनेको थियो ।

विश्व बैंकका अनुसार, मेडागास्कर विश्वका सबैभन्दा गरिब देशहरूमध्ये एक हो, जहाँ पाँचमध्ये चारजना मानिस गरिबीको रेखामुनि जीवनयापन गर्छन् । मोजाम्बिकको तटमा रहेको हिन्द महासागरको टापु राष्ट्रमा, १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएदेखि धेरै सैन्य तख्तापलट भइसकेका छन् ।