काठमाडौं-जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन्।
शाहीलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयाे ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ।
शाहीसहितको टोलीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर लफडा गरेका थिए। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै शाहीको टोलीले राजीनामा माग गरेका थिए।
यस्ता गतिविधिमा संलग्न शाही सुशीला कार्की प्रधानमन्त्री बन्दा शीतलनिवासमा जेनजीको अगुवा बनेर पुगेका थिए। सुशीलाले त्यतिबेला सुदन गुरुङसँगै शाहीसहितका जेनजीसँग एकसाथ हातमा हात मिलाउनुभएकाे थियाे।
पीडितको लाखौँ रकम ठगेका आरोपित शाही भने सुशीलासँग शीतल निवास प्रवेश गरेपछि थप कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडिरहेका थिए।
शाहीविरुद्ध यसअघि वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने, चेक बाउन्स लगायतका मुद्दा परेको थियो।






प्रतिक्रिया