काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्षको राजिनामा माग्ने पदाधिकारीलाई पहिले आफूले राजिनामा दिन सुझाउनु भएको छ ।
केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रममा सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीहरुले अध्यक्षको राजिनामा मागेको चर्चा भइरहेकोले बताउदै केन्द्रीय सदस्यहरुले उहाँहरुको राजिननमा माग्दा के हुन्छ भनेर सोध्नुभएको छ । ‘हामीले सुनिरहेका छौं केही पदाधिकारीहरुले सचिवालय बैठकमा अध्यक्षको राजिनामा माग्नु भयो रे’ गौतमले भन्नुभयो ‘तपाईंहरु पनि दुई पटक पदाधिकारी भइसक्नु भयो । तपाईंहरुको राजिनामा हामी केन्द्रीय सदस्यले माग्यौं भने दिनुहुन्छ ?’
गौतमले कसैले राजिनामा मागेकै भरमा एक वर्ष कार्यकाल बाँकी रहेको पार्टी केन्द्रीय कमिटीको महाविधेशन गर्न हतारिनु नपर्ने बताउनुभएको छ । ‘हाम्रो कार्यकाल अझै एक वर्ष छ । कसैले राजिनामा मागेकै कारण हतारिएर महाधिवेशन गर्नुपर्ने स्थिती छैन’ गौतमले भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले केपी ओलीको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको बताउनुभएको छ । ‘पार्टी र नेतृत्व यस्तो संकटमा गुज्रिएको छ । यसैबेला राजिनामा माग्ने ?’ ओलीले भन्नुभयो ‘नेतृत्वका चयनका लागि महाधिवेशन घोषणा भइसकेको छ । यस विषयमा त्यही छलफल गरौं । त्यही टुंगो गरौं ।’
ओलीले कार्यकर्ता र जनताका वास्तविक समस्या र गुनासा केन्द्रीय कमिटीसम्म आइनपुगेको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीमा छलफल भए भन्दा फरक खालका गुनासा जनतामा रहेको बताउनुभयो । ‘हामीसँग जनताका गुनासा फरक छन् । ति विषय यहाँ आइपुगेका छैनन्’ ओलीले भन्नुभयो ‘यसका लागि कार्यकर्ता र जनताको गुनासो सुन्ने अभियान पार्टीले घोषणा गर्नु पर्दछ । ’







प्रतिक्रिया