काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ।
निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले यस्तो बताउनुभएको हो।
माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उहाँले बताउनु भयो।
सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका नखेलेको उहाँको आरोप छ। नेता गुरुङले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गर्नुभयो ।
सरकाले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उहाँको भनाइ छ।
सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उहाँले बताउनुभयो।
‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो। निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ,’ नेता गुरुङले भन्नुभयो, ‘त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ।’







प्रतिक्रिया