काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पाले जारी दशौं केन्द्रीय कमिटी बैठकमा पार्टीको वर्तमान नेतृत्वप्रति पूर्ण समर्थन जनाउनुभएको छ।
नेता शेर्पाले पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको पनि समर्थन जनाउनु भएको हो।
नेता शेर्पाले जेनजी आन्दोलनको अवसर पारी संकटको घडीमा मूल नेतृत्वमाथि नै प्रहार गर्दै पार्टी भित्र भाँडभैलो मच्चाउन खोज्ने तथा विभिन्न मिडियामा त्यस्तै प्रकारका अभिव्यक्ति दिने सचिवालयभित्रका नेताहरूमाथि यस बैठकले कारबाही गर्नुपर्ने कुरा समेत बैठकमा माग गर्नुभयो।
बैठकमा नेता शेर्पाले भन्नुभयो, ‘विधान महाधिवेशनमा असहमति केही थियो कि भनेर अध्यक्षले सोध्दा सबैले ठिक छ भनेर सहमति जनाए। अनि जेनजी आन्दोलनले आगो लगाएपछि अब केपी ओली हुनु हुँदैन, विदा लिनु पर्छ भन्दै हिँड्ने- यस्तो व्यवहार देखेर म दु:ख व्यक्त गर्छु।’

नेता शेर्पाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्ने एजेन्डा विदेशी खुफिया एजेन्डा भएको ठहर गर्नुभयो। उहाँले भन्नुभयो, ‘त्यो एजेन्डा कार्यान्वयन गर्ने प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाई बनेका हुन्। अहिले हाम्रै केही नेताहरूले उनीहरूको एजेन्डा बोकेर हिँड्न थालेका छन्। पार्टीका महत्वपूर्ण पदमा बसेर पनि शत्रुका एजेन्डालाई मलजल गर्ने गरी नेताहरूबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भीर अपराध हो।’ यसको निर्मम समीक्षा हुनु पर्दछ भने पनि उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीले पार्टी र देशको नेतृत्व सम्हालेदेखि नै हाम्रो देश बाँच्न थालेको र स्वाधीन तथा स्वाभिमानी राष्ट्रको रूपमा अघि बढ्न थालेको थियो। तर अहिले फेरि जेनजी आन्दोलनको आवरणमा देशी–विदेशी शक्तिहरूले हाम्रो देशलाई एम्बुसमा पारेर ध्वस्त बनाएका छन्। यो गम्भीर अवस्थामा केपी शर्मा ओलीले नै नेतृत्व लिनु पर्ने आवश्यकता भन्दा झन् बढेको छ। अतः यो आवश्यकतालाई ठोस र मूर्त रूप दिन आगामी महाधिवेशनमा केपी शर्मा ओलीकै निर्विरोध नेतृत्वमा नेकपा (एमाले) लाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ भन्ने मेरो प्रस्ताव छ।’
उहाँले भन्नुभयो कि हाम्रा केही नेताहरूले ‘एमाले सच्चिन्छौं, सच्चिनुपर्छ। हामी माफी माग्छौं’ भनी फेसबुकमा पोस्ट गर्ने तथा मिडियामा अन्तर्वार्ता दिने काम गरेका छन्। उहाँले प्रश्न गर्नुभयो, ‘मैले नबुझेको कुरा: एमाले कुन कुरामा बिग्रिएको हो ? कुन विषयमा सचिनु पर्ने हो? हामीले जनतालाई कुन कुरामा माफी माग्नुपर्ने हो? मैले यो कुरा बुझिनँ। एमालेका नेताहरूले सार्वजनिक रूपमा यसरी माफी मागेर हिँड्ने निर्णय हाम्रो कुन बैठकले गरेको हो? यसलाई स्पष्ट पारियोस्।

अन्त्यमा उहाँले भन्नुभयो कि संकटको बेला हाम्रा नेताहरू आफू मातहतका कार्यकर्तालाई एकताबद्ध गराउनु त कतै छ कतै, उल्टै विवादका चर्चा चलाउने, फुट र गुटका विभिन्न गतिविधि सञ्चालन गर्ने, मूल नेतृत्वलाई खुल्याउने र घेराबन्दी गर्ने काम गरिरहेका देखिन्छन्। यो घोर आपत्तीको विषय हो। यस्ता तत्वहरू जेन्जी आन्दोलनमा घुसपैठ गरेर देश ध्वस्त पारेझैं संगठनभित्र घुसपैठ गरी पार्टी ध्वस्त पार्न खोज्ने हुन् भन्ने मेरो ठहर छ। यस्ता तत्वहरूलाई समयमै पहिचान गरी ठूला नेता भए पनि अब पार्टीबाट निष्कासन गर्नु आवश्यक छ भनेर उहाँले माग समेत राख्नुभएको छ।







प्रतिक्रिया