अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठकमा गोविन्द थापाद्वारा म्याग्नेसियम र सोडियमको चर्चा

एमाले बैठकमा गोविन्द थापाद्वारा म्याग्नेसियम र सोडियमको चर्चा


काठमाडौँ-नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेसियम र सोडियमका रूपमा प्रयोग गरिएको छ कि ? यस्तो प्रश्न एमाले केन्द्रीय कमिटी बैठकमा उठेको छ। केन्द्रीय सदस्य गोविन्द थापाले यस्तो प्रश्न उठाउनुभएको थियो।

२०८२ भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् सहित ठूला भवनहरू जलाउन सङ्गठित गिरोहले महिनौँको तयारीपछि म्याग्नेसियम र सोडियम जस्ता घातक रासायनिक पदार्थ प्रयोग गरेको न्यूयोर्क टाइम्स अखबारले खुलासा गरेको छ। सो विषय उठाउँदै थापाले सिंहदरबार र संसद् जलाउन प्रयोग गरे जसरी एमालेलाई जलाउन पनि म्याग्नेसियम र सोडियम प्रयाग गरिने खतरा औँल्याउनुभयो।

बैठकमा उहाँले भन्नुभयो, ‘षडयन्त्रकारीहरुले जेन्जीलाई अगाडि सारेर म्याग्नेशियम र सोडियम प्रयोग गरेर देश जलाए, उनीहरु नेकपा एमालेलाई पनि जलाउन चाहन्छन् भन्ने हामीले बुझेका छौं कि छैनौं ? षडयन्त्रकारीहरु नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि जलाउन चाहन्छन् भन्ने बुझेका छौं कि छैनौं ? एमाले र ओलीलाई म्याग्नेशियम र सोडियमले सिध्याउन सकिँदैन, त्यसका लागि एमालेभित्रकै व्यक्तिहरुलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ।’

केपी ओलीले अध्यक्ष पद छाड्नुपर्छ भन्नेहरूले कतै आफू म्याग्नेसियम र सोडियम बनिरहेको त छुइन भनेर आफैलाई सोध्नुपर्ने विचार थापाले राख्नुभयो।

थापाले भन्नुभयो, ‘सत्रु सामुन्ने आइसक्यो, सत्रुले देश जलाई सक्यो। सत्रुले जेजे गर्नुपर्ने गरिसक्यो। सत्रुले २०८२ भदौ २३ गते भीडमा घुसेर गोलीकाण्ड मच्चायो, गोलीले मान्छे भुट्ने अवस्था सिर्जना गर्न षडयन्त्र गर्यो।’

सत्रुले अब म्याग्नेशियम र सोडियम कसरी प्रयोग गर्ने योजना बनाएको छ भन्ने हामीलाई थाहा छैन, हामीलाई के थाहा छ भने सत्रुको भण्डारबाट म्याग्नेशियक र सोडियम सकिएको छैन भन्ने विचार थापाको थियो।

केपी ओलीले अध्यक्ष पद छाड्नुपर्छ भन्ने विचार केहीले राखेको सन्दर्भ निकाल्दै थापाले भन्नुभयो, ‘केपी ओलीले के छाड्ने ? नेकपा एमालेको अध्यक्ष पद छाड्ने हो ? २०८२ भदौ २३ र २४ आएको थिएन भने शायद म पनि भन्थें, अध्यक्षज्यूले अब भारी बिसाए हुन्छ। तर, २३ र २४ जसरी आयो, म भन्छु, केपी ओलीले एमाले अध्यक्ष पद छाड्न पाउनुहुन्न। देश यस्तो अवस्थामा पुगेको बेला केपी ओलीले छाड्न कसरी मिल्छ ? यो संकटबाट देशले पार पाएपछि छाडे हुन्छ तर अहिले छाड्न मिल्दैन । मिल्दै मिल्दैन।’

षडयन्त्रकारीहरुले नेपाललाई सिध्याउन चाहेको विचार राख्दै थापाले नेपाललाई सिध्याउनका लागि नेकपा एमालेलाई सिध्याउन चाहन्छन्, एमालेलाई सिध्याउन केपी ओलीलाई सिध्याउन चाहन्छन् भन्नुभयो।

षडयन्त्रकारीहरुले जुन केपी ओलीलाई सिध्याउन यति ठूलो ग्राण्ड डिजाइन गरे, उही केपी ओलीलाई एमालेले सिध्याउने ? यस्तो प्रश्न थापाले उठाउनुभयो।