अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा सकारात्मक परिवर्तनको खाँचो छ: अध्यक्ष ओली

देशमा सकारात्मक परिवर्तनको खाँचो छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंस गर्ने परिवर्तन देशलाई नचाहिएको बताउनुभएको छ। 

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनु भएकाे हाे ।

अध्यक्ष ओलीले भौतिक संरचना, तोडफोड गरेर देशको विकास कहिल्यै सम्भव नहुने बताउनुभयो। नेपाली जनताले ठुलो सङ्घर्ष र बलिदान दिएर देशमा लोकतन्त्र ल्याएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘अर्काको घरमा आगो लगाउने, सरकारी भौतिक संरचना ध्वस्त गर्ने, सामाजिक सञ्जालमा अस्वस्थता र गलत भास्य सिर्जना गर्नुले मुलुकमा शान्ति र विकास हुँदैन।’

अहिलेको सरकारले मुलुकमा चुनाव गराउने गरी अन्तरिम सरकार गठन भए पनि निर्वाचनमा ध्यान दिन नसकेको भन्दै उहाँले देशको विकासमा यो सरकारले काम गर्न नसक्ने बताउनुभयो । मुलुकमा शान्ति कायम गर्न र दिगो विकास गर्नका लागि एमालेजस्तो पार्टी रहेको बताउँदै उहाँले केही समयपछि राजनीतिक वातावरण सङ्लिने विश्वास व्यक्त गर्नुभयो। 

लोकतान्त्रिक प्रणाली सबैले मान्न अनिवार्य रहेको भन्दै उहाँले संविधानले त्यही व्यवस्थाको अङ्गिकार गरेको बताउनुभयो । कानुनी प्रक्रिया पूरा गरी शान्तिपूर्ण रूपमा आयोजना हुने निर्वाचनबाट एमाले नभाग्ने तर अस्वस्थ र गैरकानुनी रूपमा आयोजना हुने निर्वाचन सफल नहुने उहाँको भनाइ छ। मुलुकमा कानुनी राज र प्रणालीको विकास गर्न अपरिहार्य रहेको भन्दै उहाँले मुलुकलाई अस्थिर राख्ने छुट कसैलाई नभएको बताउनुभयो। 

कानुनी र राजनीतिक रिक्तताले मुलुक चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘व्यक्तिगत रिसइबी गरेर मुलुकमा शान्ति आउँदैन, मसहित नेताहरुलाई पक्राउ गर्ने भनिएको छ, के कारण देखाएर पक्राउ गर्ने ? आधार त चाहिएला नि पक्राउ गर्ने ? सम्पत्ति छानबिन गर्ने भनिएको छ, गर्नुस् छानबिन । निष्पक्ष छानबिन गर्नुस् ।’

समय गतिशील भएकाले सबैले हेक्का राख्नुपर्ने भन्दै अध्यक्ष ओलीले आज गल्ती गर्नेहरू भोलि कठघरामा आउनुपर्छ भन्ने ख्याल गर्नुपर्छ उहाँले सुझाव दिनुभयो । देश र जनताको पक्षमा काम गर्नेको जहिले सही मूल्याङ्कन हुने तर गलत काम गर्नेको ढिलोचाँडो पहिचान हुने उहाँले बताउनुभयो । 

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासलमा पुगेर धारणा राख्दै अध्यक्ष ओलीले सरकारको तर्फबाट जेनजीमाथि गोली चलाउने निर्देशन नदिइएको पुनः दोहोर्‍याउनुभयो । घटनाको निश्पक्ष छानबिन गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष अ‍ोलीले पार्टी मुख्यालयको क्षति भएको संरचनाको अवलोकन गर्नुभएको छ ।