उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलाल लगायतका जनप्रनितिनिधिमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ।
तिहारको अवसरमा चौदण्डीगढी नगरपालिका-१० हडिया बजारमा आयोजना गरिएको चियापान तथा शुभकामना कार्यक्रममा उनीहरुमाथि आक्रमण भएको हो।
शुभकामना आदनप्रदान कार्यक्रम सुरु हुँदै गर्दा जेनजी युवाहरुको टोलीले कार्यक्रम स्थलमा आक्रमण गरेको थियो।
एक स्थानीयका अनुसार जेनजी युवाहरुले भ्रष्ट जनप्रतिनिधिहरुको कार्यक्रम भएको भन्दै विरोध गर्दै ब्यानर, माइक र कुर्सी मिल्काइदिएपछि जनप्रतिनिधिहरुको टोली कार्यक्रम स्थल छाडेर हिँडेका थिए।
चौदण्डीगढी नगरपालिका–९ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश राउतले मेयर, उपमेयर, आफू र १० का धमेन्द्र खड्का लगायतको टोलीमाथि आक्रमण भएपछि कार्यक्रम स्थल छाडेर हिँडेको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘कार्यक्रम सुरु हुँदै थियो । जेनजी हामी हौँ भन्ने युवाहरुले ब्यानर, कुर्सी माइक कब्जा गरेपछि कार्यक्रम छाडेर हामी हिँडेका हौँं ।’
उहाँले कार्यक्रमको विरोध भएको देखेपछि कार्यक्रम स्थल छाडेर हिँडेको जानकारी दिँदै चौदण्डीगढी नगरपालिका–१० मा रहेको एक सहकारीको विवादले समस्या भएको बताउनुभयाे ।
चौनपा–१० हडियामा जनउत्थान कृषि तथा पशु सहकारी छ। त्यस सहकारीको अध्यक्ष वडा नम्बर १० कै वडाअध्यक्ष धमेन्द्रकुमार खड्का छन् । सहकारीले आर्थिक अनियमिता गरेको आरोप जेनजी युवाहरुको भएकाले विरोध भएको स्थानीय नवराज राउतले जानकारी दिनुभयाे ।
उहाँले भन्नभयाे वडा अध्यक्ष नै सहकारीको अध्यक्ष हुनुहुन्छ । सहकारीमा झण्डै २० लाख रुपैयाँ हिनामिना भएको अनुमान छ । यता विभिन्न विकास निर्माणका योजनाहरुमा घोटला भएको युवाको भनाइ छ । त्यसको विरोधमा आजको शुभकामना कार्यक्रममाथि जेनजी युवाहरुले आक्रमण जस्तै गरी ब्यानर, माइक मिल्काइदिएका थिए ।
इलाका प्रहरी कार्यलय चौदण्डीगढी बेल्टारका इन्सपेक्टर बबिन राईले नगरपालिकाका जनप्रतिनिधिहरुले आयोजना गरेको शुभकामना कार्यक्रम जेनजी युवाको विरोध भएको बताउनुभयाे ।
उहाँले भन्नभयाे ‘जेनजी युवाहरु कार्यक्रम स्थल आक्रमण गरेर ब्यानर हटाउनेदेखि माइक मिल्काइदिने काम भएको रहेछ । कार्यक्रममाथि आक्रमण भएपछि जनप्रतिनिधिहरुको टोली हिँडेको हो ।’







प्रतिक्रिया