काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिनुभएको छ ।
आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले आफूले लेखेको सिफारिसको भाषा पनि सुनाउँदै त्यसमा कतै पनि सुशीला कार्कीको नाम नभएको स्पष्ट पार्नुभयो।

प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत केपी ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गर्नुभएको थियो।
अध्यक्ष ओलीले भने प्रचण्डलाई चुनौती दिँदै भन्नुभयो, ‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन। कुनै बेला निस्किएला नि। सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त र ?’
उहाँले आफूले देशको परिस्थिति हेरेर राष्ट्रपतिसमक्ष नयाँ सरकारका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नयाँ सिफारिस भने गरेको बताउनुभयो।
उहाँले राष्ट्रपतिसमक्ष आफूले गरेको सिफारिसको ब्यहोरा समेत सुनाउनुभयो।
यस्तो छ केपी ओलीले राष्ट्रपतिसमक्ष गरेको सिफारिस :
वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाटै अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।








प्रतिक्रिया