अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु: केपी ओली

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु: केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ।

आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिनुभयो ।

‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ,’अध्यक्ष ओलीले, ‘हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो।’

अध्यक्ष ओलीले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले आफ्ना मूल्य र मान्यता देश, जनता र मानव जातिप्रति निष्ठासाथ अडिग रहेको दाबी गर्नुभयो।

पत्रकारितासँग सम्बन्धित विषयमा पनि बोल्दै अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको बताउनुभयो। ‘मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख लेख्नुपर्ने अवस्था थिएन। आत्मसेन्सर गर्ने, आफैंलाई रिस्टिक्ट गर्नुपर्ने अवस्था थिएन, ’अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले देश विकासको दिशामा अघि बढिरहेको अवस्थामा हाल देश अस्थिरतातर्फ गएको आरोप लगाउनुभयो । ‘देश सार्वभौमसत्ता जर्गेना गर्दै अगाडि बढिरहेको थियो, त्यो अहिले भताभुङ्ग भएको छ,’अध्यक्ष ओलीले भन्नभयो।

कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ। यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरु मेरा निष्ठाका विषय हुन्।’