ललितपुर-ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गएराति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार बिकलाई पेस्तोल र चार लाख अठहत्तर हजार रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिनुभयाे।
खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका थिए ।
“विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान–१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।” जोशीले भन्नुभयाे।
विकलाई हाल नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको उहाँले बताउनुभयाे।







प्रतिक्रिया