काठमाडौं-अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दा दर्ता रहेका खुलासा भएको छ।
नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम अनुसार सुनार काभ्रेपलाञ्चोक र सुर्खेत जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका फरार अभियुक्त हुन्।
सुनारका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ। यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ। अदालतले सुर्खेत प्रहरीलाई किन पक्राउ पुर्जीबारे २०८१ मंसिर २१ गते पनि ताकेता गरेको थियो।
सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।
सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ। अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो।
नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितन्डा मच्चाएका थिए। सुनारले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपश्चात गौतमले मानहानीको मुद्दा हालेकी हुन् । गत वैशाख २१ मा सो मुद्दा दर्ता भएको रेकर्ड गौतमले राखेकी छन् ।








प्रतिक्रिया