काठमाडौं-जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
उनीहरू हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रारम्भिक अनुसन्धानमा उनीहरूले महाराजगन्जमा कार्यरत दुई प्रहरीलाई कुटपिट गरी हत्या गरेको निष्कर्ष प्रहरीको रहेको छ।
यसअघि नै सो प्रकरणमा संलग्न चार जना आरोपीहरू पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार कारागार पठाइएका मध्ये काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ), सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम विक रहेका छन् ।






प्रतिक्रिया