काठमाडौं-नवनियुक्त मन्त्रीद्वय डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा दुई जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिनुभएको हाे। आज ४ जना मन्त्रीको शपथ गराउने तयारी भए पनि दुई जनाको शपथ रोकिएको थियो।
गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गर्नुभएको थयाे। त्यसअघि उहाँको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री नबन्ने बताएका थिए।
साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए। उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएपछि शपथ रोकिएको थियो।
कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्यलगायत उपस्थित हुनुहुन्थ्यो।






प्रतिक्रिया