अर्घाखाँची–नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले जनताको बलमा प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ।
एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताउनु भएको हो।
नेता थापाले भन्नुभयो, ‘हामीले दुई वटा निर्णय गरेका छौं। पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने । दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने।’
नेता थापाले अहिलेको परिस्थिति अस्थिर र अराजक रहेको भन्दै संविधानले नचिनेका, जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो। हुल अफ ल मुर्दावाद। हामी कानुनी शासनको पक्षमा छौं।’
कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताउनुभयो।
नेता थापाले २०८२ भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाउनुभयो।
विश्वकर्माले भन्नुभयो,‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन।’
संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।







प्रतिक्रिया