अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्न सकिँदैन: कृष्णभक्त पोखरेल

केपी ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्न सकिँदैन: कृष्णभक्त पोखरेल


काठमाडौँ-नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचन मात्रै रहेको बताउनु भएको छ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोखरेलले यस्तो बताउनु भएको हो।

नेता पोखरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने बताउनुभयो।

‘अहिले यो सरकारको टीओआर भनेको निर्वाचन हो। निर्वाचनको कुरा गर्ने अनि देशको सबैभन्दा पपुलर मत पाएको नेतालाई नै स्थान हद गर्ने। के कारण हो ?’ नेता पोखरेलले प्रश्न गर्नुभयाे, ’पार्टी अध्यक्ष नै स्थान हद भएपछि त्यो पार्टीका चुनावी कार्यक्रमहरू कसरी हुन सक्छ ? निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास कसरी बन्छ ?’

नेता पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएका भए छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ।उहाँले एमाले आफ्ना नेताहरूको सम्पत्ति छानबिनका लागि पनि तयार रहेको स्पष्ट पार्नुभयो।

नेता पोखरेलले पशुपतिमा सुनको जलहरीमा पित्तल राखेको भन्ने आरोप छानबिनपछि गलत साबित भएको दाबी पनि गर्नुभयो। ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने अहिले त हामी सरकारमा छैनौँ, छानबिन होस्,’ उहाँले भन्नुभयो।

नेता पोखरेलले माओवादी केन्द्रका नेताहरू कुनै न कुनै काण्डमा मुछिइरहेको बेलामा एमालेका कुनै पनि नेताहरूमाथि अख्तियारले मुद्दा अभियोजन गर्न नसकेको दाबी गर्नुभयो।

नेता पोखरेलले अहिलेको परिस्थितिको अन्त्य गर्ने सार्वभौम थलो संसद्बाहेक अर्को हुन नसक्ने बताउनुभयो। उहाँले २०६३ मा माओवादीलाई संसद्मा समावेश गराएजसरी नै जेनजी पुस्तालाई समावेश गराएर सबै समस्याको निकास निकाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो।