काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय,सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सार्नुभएकाे छ।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान संकट टार्ने गरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयाे।
सो भेटवार्ताका विषयबारे जानकारी गराउँदै नेता रिजालले विभिन्न ६ वटा बुँदामा अध्यक्ष ओलीले अघि सारेका ‘मार्गचित्र’ भन्दै प्रस्तुत गरेका छन् ।
यस्तै, अध्यक्ष ओलीले प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्न र जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सार्नुभएकाे छ।

यो अवस्थामा उहाँले फागुन २१ गते नै निर्वाचन हुनसक्ने पनि औँल्याउनुभयाे।
अध्यक्ष ओलीले आफूलाई जेनजी आन्दोलनका नाममा हटाइए पनि ‘थप तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्रीको दाबी नगर्ने’ पनि स्पष्ट पार्नुभयाे।
यस्तो छ ओलीको मार्गचित्र
१) असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना।
२) प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था।
३) जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट।
४) जेन–जीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठन।
५) उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन। त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव।
६) संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण।







प्रतिक्रिया