दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको मंगलबार तुलसीपुरमा अवलोकन गर्नुभएको छ ।
जेन जी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला दाङ पुग्नु भएका पोखरेलले तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, उपमहानगरपालिकाको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्टका साथै कांग्रेस नेताहरू गेहेन्द्र गिरी र डिल्ली चौधरीका क्षतिग्रस्त घरहरूमा पुग्नु भएको छ ।
क्षतिग्रस्त संरचना अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले तोडफोड र आगजनीका घटनाले मुलुकलाई दीर्घकालीन रूपमा ठूलो क्षति पुर्याएको बताउनुभयो । “यो राष्ट्रमाथिको ठूलो घात हो,” उहाँले भन्नुभयो, “फेरि पनि हामी खरानीबाट उठ्नै पर्छ ।” उहाँले यस्ता घटना दोहोरिन नदिन सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले दाङका संरचनामा क्षति पुर्याउने कार्य दङालीहरूले नै गरेको दाबी गर्दै तोडफोडमा संलग्नहरू पछुताउने अवस्थामा पुगेको बताउनुभयो । “धेरै रहस्यहरू बाहिर आएका छन्,” उहाँले भन्नुभयो, “यो कार्यले समाज र राज्यलाई पछाडि धकेल्यो, दीर्घकालीन असर पार्यो ।”
पोखरेलले हालको सरकार संविधान विपरीत बनेको र जनताको रोजाइअनुसार नभएको बताउनुभयो । “यो सरकार न संविधानमा टेकेर बनेको हो, न जनताले रोजेको हो,” उहाँले भन्नुभयो, “मन्त्रीहरूमा कस्ता पात्र खडा भएका छन् भन्ने देखिँदै गएको छ । सरकारको चरित्र स्पष्ट हुँदैछ ।”
आन्दोलनमा संलग्न भएकाहरूको नैतिक मूल्य पूरा गर्न सरकारले असफल भएको दाबी गर्दै पोखरेलले नयाँ पुस्ताले आवेग र आक्रोशको दुरुपयोग नगरी देशको अस्मिता र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
“समाजलाई व्यवस्थित गर्नुपर्छ, लोकतन्त्रलाई बलियो बनाउनैपर्छ,” उहाँले भन्नुभयो, “अब राष्ट्रको अस्मिता जोगाउन सबै एकजुट हुनुपर्छ ।”







प्रतिक्रिया