अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश अहिले आन्तरिक मात्र होइन,राष्ट्रिय सुरक्षा समेत खतरामा छ : उपमहासचिव ज्ञवाली

देश अहिले आन्तरिक मात्र होइन,राष्ट्रिय सुरक्षा समेत खतरामा छ : उपमहासचिव ज्ञवाली


धरान — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा ,एसमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्नु भएको छ।
एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा हिजो भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताउनुभयो। नेकपा एस र माओवादी बीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा यसलाई बस स्टप जस्तो बनाएर माओवादीमा लैजान खोजिएको भन्दै व्यङ्ग्य गर्नुभयो। उहाँले भन्नुभयो – नेकपा फुटाएर नयाँ पार्टी बनाउँछौं, नयाँ उचाइ दिन्छौं भन्नेहरू आज माओवादीमा जान खोज्दै हुनुहुन्छ । के माओवादीमा जानका लागि नेकपा एसलाई बस स्टप बनाइएको हो रुउहाँले माओवादी केन्द्रका अध्यक्षप्रति टिप्पणी गर्दै भन्नुभयो- प्रचण्डले पुन आफू अध्यक्ष हुनका लागि विभिन्न पार्टीहरूसँग एकीकरण गरिरहेका छन् । माओवादी केन्द्र होइन, नयाँ पार्टीको म अध्यक्ष हुँ भन्नका लागि यो सबै गरिरहनु भएको हो।

उहाँले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गर्दै भन्नुभयो लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको छ। ज्ञवालीले जेएनजीको नाममा देशमा विध्वंश सृजना गरि सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । हाम्रो भूमि प्रयोग गरेर छिमेकीलाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ । हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ।

पछिल्लो घटनाक्रमले संविधान र लोकतन्त्र संकटमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ( संविधानले नचिनेका मानिस प्रधानमन्त्री भएका छन्। हैसियत नभएकाले कर्मचारीलाई थर्काइरहेका छन् कर्मचारी डराइरहेका छन्, काम हुन सकेको छैन। आन्तरिक सुरक्षा मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ। यस अवस्थामा चुनाव हुँदैन।अहिले संविधान मात्रै होइन देशलाई सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, जेलेन्सकी जस्ता पात्रहरु सिर्जना गरेर देशलाई ध्वंस गर्ने प्रयत्न हुँदैछ। अहिलेको व्यवस्थामा कार्यकारीमाथि संसदले चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्छ। तर हामीले पपुलिजमको भरमा परेर कार्यकारीको कुरा गरिरहेका छौं । त्यो हाम्रा लागि खतरा छ अहिले हाम्रो मुलुकलाई आगो लगाउनका लागि यस्ता विभिन्न खालका कुराहरु गरिँदैछ ( उहाँले भन्नुभयो। विभिन्न बहानामा सामाजिक सद्भाव खलल पुर्‍याउने, आर्थिक संरचनाहरू ध्वस्त बनाउने परिस्थिति बनाइँदैछ। यसप्रति हामीले बेलैमा सचेत हुनुपर्ने ज्ञवालीको भनाइ थियो। उहाँले दलहरूलाई कुनै दुविधामा नरही व्यवस्थालाई जोगाउनका लागि संसद पुनस्थापनाको एजेन्डामा एक हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले संसद विघटन असंवैधानिक भएको बताउँदै जेन जीको माग संसद विघटन नभएको तर षड्यन्त्रकारीहरूले जेन जी विरोधलाई हाइज्याक गरेर मुलुकलाई भड्खालामा हालिएको बताउनुभयो। बैठकमा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई एक ढिक्का र बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ ढंगको आन्दोलनमार्फत असंवैधानिक हर्कतहरू खारेज गर्न सबै कार्यकर्तालाई तयार रहन उहाँले निर्देशन दिनुभयो। उहाँले संघर्षका माध्यमबाट मात्रै असंवैधानिक कदमलाई सच्याएर ठिक ठाउँमा ल्याउन सकिने भन्दै उहाँले देशभरि एमालेले जनप्रदर्शन र विरोधका कार्यक्रम गर्ने बताउनुभयो।

त्यसैगरी स्थायी समितिका सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलेनेपालको सार्वभौमसत्तालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो। उहाँले लोकतन्त्रवादी र गणतन्त्रवादी एकजुट भएर यसलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो। जेन जी विरोधको‌ समयमा भएका घटनाका सत्य तथ्य बाहिर ल्याएर विध्वंश गर्नेलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा सहभागी नेताहरूले आर्थिक, सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै जनआधारित, संवैधानिक विधिमार्फतै नेतृत्व चयन र पार्टी पुनर्स्थापनामा जोड दिँदै सबै तहका कार्यकर्तालाई संगठन र एकताका लागि सक्रिय हुन आग्रह गरेका थिए। कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत मानव अधिकार एलायन्सका अध्यक्ष बिदुर सुवेदी र पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल लगायतले बोल्नुभएको थियो। कोशी प्रदेशका जनसंगठन संयन्त्रका प्रमुख बाबुराम थापाले कोशी प्रदेशमा जनपरिचालन जनप्रदर्शन गर्नका लागि आह्वान गरिएको र बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिनुभयो।