अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसीपुरका ध्वस्त संरचनामा एमाले महासचिव पोखरेल अभिभावकका रूपमा पुगेपछि…

तुलसीपुरका ध्वस्त संरचनामा एमाले महासचिव पोखरेल अभिभावकका रूपमा पुगेपछि…


दाङ-भदौ २३ र २४ को जेन-जी आन्दोलनले तुलसीपुरलाई गहिरो घाउ दिएको थियो। आगजनी र तोडफोडका घाउ बोकेर सरकारी कार्यालयका स्वरूप बदलिएका छैनन्। क्षतविक्षत संरचना पुनर्निर्माणको पर्खाइमा रहिरहँदा हिजो साँझ नेकपा एमालेका महासचिव शङ्कर पोखरेल अवलोकन गर्न जानुभयो, नेताको हैसियतमा होइन, अभिभावक झैँ समवेदना बोकेर।

आन्दोलनपछि पहिलो पटक गृह जिल्ला फर्किनुभएका महासचिव पोखरेलले तुलसीपुरमा क्षति भएका तुलसीपुर उपमहानगरको भवन, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, एमाले पार्टी कार्यालय मात्र होइन कोमल रिसोर्ट र नागरिकका घरहरूको क्षतिबारे चासो राखे। फेरि भदौ २३ र २४ दोहोरिन नदिने राजनीतिक प्रतिबद्धता राखे।

आन्दोलनका क्रममा क्षतविक्षत संरचनाकै आडमा उभिएर खरानीबाट उठ्ने प्रतिज्ञा महासचिव पोखरेलको प्रतिज्ञा थियो। महासचिव पोखरेलका पाइला केवल अवलोकनका लागि भन्दा बढी एउटा अभिभावकको भूमिकाको पुनरागमन झल्कायो।

बजारदेखि ५ किलोमिटर पूर्वमा रहेको क्षतविक्षत आफ्नो घर पुग्नुपूर्व महासचिव पोखरेल फरक आस्थाका नेताहरूको दैलोमा पुगेर क्षतिविवरण लिँदै पीडामा मल्हम लगाउने कामको सबैले प्रशंसा गरे।   

आन्दोलनको निसानामा परेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको घरमा पुगेर वर्तमान राजनीतिक अस्थिरता चिर्न प्रमुख दलका बीचमा सहकार्यको आवश्यकता महसुस गराउँदै महासचिव पोखरेलले यस खालका घटना फेरि दोहोरिन नदिने प्रतिज्ञासमेत व्यक्त गर्नुभयो।

जेनजी आन्दोलनमा आफू र आफ्नो घर मुख्य निसानामा परेको बताउँदै गिरीले भावुक स्वरमा भन्नुभयो, ‘षड्यन्त्रपूर्वक तरिकाले मेरो घरमा क्षति पुर्याइयो, यो केवल व्यक्तिगत नभई राजनीतिक असहिष्णुताको परिणाम हो। राजनीतिक प्रतिस्पर्धा सधैँ रहन्छ तर यस्तो विनाश देशका लागि घातक छ।’

महासचिव पोखरेलको शान्त तर दृढ स्वरमा थियो, ‘देशलाई सही दिशामा लैजान सबैको सहकार्य जरुरी छ। अब यस्ता घटना दोहोरिनु हुँदैन।’ यस क्षणमा काँग्रेस र एमालेका दुई अगुवा नेताबीचको संवाद राजनीतिभन्दा माथिको संवेदना बनेको देखिन्थ्यो।

त्यससँगै पोखरेल पूर्वमुख्यमन्त्री एवम् काँग्रेस नेता एवं पूर्व मुख्यमन्त्री डिल्ली चौधरीको घरमा पुग्नुभयो। चौधरीले क्षतिग्रस्त घर देखाउँदै भन्नुभयो, ‘यहाँ केवल तोडफोड मात्र भएन, आगजनी र चोरी पनि भयो। जलेर घरमा क्षति भयो तर सहनशीलताको संस्कृतिलाई पनि आगोले छोयो।’ पोखरेलले धैर्यपूर्वक सबै कुरा सुनेर र आश्वासन दिदनुभयो ‘राजनीतिले घृणा होइन, उपचार दिनुपर्छ। हामी त्यसैको अभ्यास गर्छौं।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले प्रशासनिक भवनको जर्जर अवस्था देखाउँदै महासचिव पोखरेलसँग गुनासो गर्नुभयो, ‘अण्डरग्राउण्ड पार्किङमा राखिएका गाडी र ग्याँस सिलिण्डर विस्फोट गराएर भवन नै जीर्ण बनाइयो। प्रशासनबाट सहयोग नपाउँदा नगरले आफैलाई असहाय महसुस गर्‍यो।’

महासचिव पोखरेलले त्यस गुनासोलाई ध्यानपूर्वक सुन्नुभयो। उहाँको अनुहारमा राजनीतिज्ञभन्दा बढी अभिभावकत्व झल्किन्थ्यो। महासचिव पोखरेलले त्यहाँ उपस्थित जनताका बीचमा भन्नुभयो , ‘सरकार, दल र जनता सबैले जिम्मेवारी बुझ्नुपर्छ। आन्दोलनको आवेगले राज्यलाई पछाडि धकेल्यो, अब सहकार्य र क्षमाभावले मात्र हामी अघि बढ्न सक्छौं।’

पोखरेलले निरीक्षण गरेका प्रत्येक ठाउँको अभिव्यक्तिमा एउटै भाव रह्यो, राज्यले पनि, जिम्मेवारी र आशा नजलोस् ।

तुलसीपुरले राजनीतिभन्दा माथिको सन्देश सुनेको अनुभव गर्‍यो। एक नेताले सहकर्मी राजनीतिक दलका नेताको घरमा पुगेर हात मिलाउँदा, घाइते संरचनासँग संवेदना बाँड्दा र मुलुकलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दा।

दाङका क्षतिग्रस्त संरचनाहरू अझै पुनर्निर्माणको प्रतीक्षामा छन् तर जनभावनाको पुनर्निर्माण सुरु भइसकेको छ। सम्भवत  पोखरेलको यही यात्राले दिएको सबैभन्दा ठूलो सन्देश हो- संवेदना र सहकार्यको बाटोमै मुलुकको अस्मिता र लोकतन्त्रको रक्षा सम्भव छ।