अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुनै पनि असन्तोषको अभिव्यक्ति हिंसामा रूपान्तरण हुनु लोकतन्त्रका लागि खतरा: प्रदीप ज्ञवाली

कुनै पनि असन्तोषको अभिव्यक्ति हिंसामा रूपान्तरण हुनु लोकतन्त्रका लागि खतरा: प्रदीप ज्ञवाली


पोखरा-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते पोखरामा भएका आगजनी घटनाबाट अकल्पनीय क्षति पुगेको भन्दै प्रभावित उद्यमीहरू दृढतापूर्वक पुनः उठ्न लागेका देखेर खुसी लागेको बताउनु भएको छ।

उपमहासचिव ज्ञवालीले पोखरास्थित आगजनी प्रभावित व्यावसायिक स्थलहरूको स्थलगत अवलोकनपछि यस्तो धारणा व्यक्त गर्नुभएको हो। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘२०८२ भदौ २४ गतेको आगजनीले प्राडा भरत पहारीको होटेल सरोबर, पार्टी केन्द्रीय सदस्य राजीव पहारीको निजी निवास, गणेश गुरुङको होटेल गुडविल, नेपाली कांग्रेसका नेता बिन्दु थापाको होटेल बगैँचा र वासु त्रिपाठीको होटेल एडम जस्ता व्यावसायिक सम्पत्तिहरू पूर्णरूपमा ध्वस्त भएका थिए, त्यस्तो अकल्पनीय क्षति बेहोरेर पनि उहाँहरू सम्हालिँदै पुनः उठ्नु भएको देख्दा हर्ष लागेको छ।’

उपमहासचिव ज्ञवालीले उक्त घटनाबाट प्रभावित व्यवसायीहरूको साहस र पुनर्निर्माणका प्रयासलाई ‘प्रेरणादायी उदाहरण’ भन्नुभयो। 

स्थलगत अवलोकनका क्रममा उहाँसँग पार्टी सचिव योगेश भट्टराई,  पार्टी नेता किरण गुरुङसहितका एमाले नेता तथा कार्यकर्ताहरू पनि सहभागी हुनुहुन्थ्यो। टोलीले आगजनी प्रभावित क्षेत्रका व्यवसायी तथा नेताहरूसँग भेटघाट गर्दै क्षतिको अवस्था र स्थानीय प्रशासनका पहलबारे जानकारी लिएको थियो।

उपमहासचिव ज्ञवालीले आन्दोलनको नाममा निजी सम्पत्तिमा क्षति पुर्‍याउनु निन्दनीय रहेको उल्लेख गर्दै शान्तिपूर्ण विरोध आन्दोलन नै लोकतान्त्रिक पद्धतिको आत्मा भएको बताउनुभयो। कुनै पनि असन्तोषको अभिव्यक्ति हिंसामा रूपान्तरण हुनु लोकतन्त्रका लागि खतरा भएको उहाँको धारणा छ। राज्यका संयन्त्रहरूले अपराधी पहिचान गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले देशका पर्यटन र लगानी क्षेत्रहरूमा नकारात्मक प्रभाव पर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

उपमहासचिव ज्ञवालीले आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालयको पनि अवलोकन गर्नु भएको थियो