अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेको घरमा ढुंगा प्रहार, चौतारीद्वारा घटनाको निन्दा

लमजुङमा प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेको घरमा ढुंगा प्रहार, चौतारीद्वारा घटनाको निन्दा


लमजुङ- प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ। लमजुङको सदरमुकाम बेशीसहरस्थित पाण्डेको घरमा कात्तिक १३ गते राति करिब १२ बजे अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका हुन्।

ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्।

घटनापछि प्रेस चौतारी नेपालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो।’

चौतारीले २०८२ भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिएको र त्यसको पछिल्लो कडीका रूपमा यो घटना भएको  दाबी गरेको छ। चौतारीले यसलाई योजनाबद्ध र षड्यन्त्रपूर्वक गरिएको आक्रमण भनेको छ।महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन।’

चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग माग गरेको छ।