काठमाडौँ- नेकपा एमालेको ११औं महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक २०८२ कात्तिक १५ गते अर्थात् भोलि शनिबार बस्दै छ। बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बस्ने बैठकमा विशेषगरी २ विषयमा छलफल गर्ने नेताहरूले बताएका छन् ।
२०८२ असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मंसिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकका मुख्य गरी दुईवटा मात्र एजेण्डा रहेको बताउनुभयो । उहाँका अनुसार आगामी मंसिर २७,२८ र २९ गते पोखरामा हुनेगरी तोकिएको ११औं महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ। सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ । सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ ।
विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय पनि भोलिको बैठकले गर्ने गौतमले बताउनुभयो।
एमाले नेताहरूका महाधिवेशनका लागि सदस्यताको निर्क्योल, महाधिवेशन प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण गर्नुका साथै विभिन्न समिति उपसमितिहरूको गठन सचिवालय बैठकले गर्नेछ ।
२०७८ साल मंसिरमा चितवनको सौराहामा एमालेले १० औं राष्ट्रिय महाधिवेशन गरेको थियो । प्रत्येक पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन एमालेले यस पटक झन्डै एक वर्ष पहिला नै गर्न लागेको हो ।







प्रतिक्रिया