काठमाडौं–पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले २०८२ कात्तिक १२ गते ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको थियो । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि त्यस्तै निर्णय भएपनि सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भन्दै सरकारले स्थानहद फुकुवा गरेको थियो ।






प्रतिक्रिया