अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र जनताको सुरक्षाका लागि अब युवाहरू मौन बस्दैनन्: महेश बस्नेत

देश र जनताको सुरक्षाका लागि अब युवाहरू मौन बस्दैनन्: महेश बस्नेत


काठमाडौँ-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकता, अपराध र राष्ट्रविरोधी गतिविधिका अगाडि अब दृढ देशभक्त ‘यूथ भोलेन्टियर्स फोर्स’ खडा हुने बताउनुभएको छ।

भक्तपुरको गुण्डुमा आइतबार ‘यूथ भोलेन्टियर्स फोर्स’को भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो।

नेता बस्नेतले देश र जनताको सुरक्षाका लागि अब युवाहरू मौन नबस्ने पनि बताउनुभयो। ‘यूथ भोलेन्टियर्स फोर्स’ देश, संविधान र जनताको हितमा समर्पित युवाहरूको स्वाभिमानी अभियान भएको नेता बस्नेतले बताउनु भयो। नेता बस्नेतले भन्नुभयो, ‘यो संगठन देश, संविधान र जनताको हितमा समर्पित युवाहरूको स्वाभिमानी अभियान हो। जब सरकार कमजोर देखिन्छ, जब प्रशासन मौन हुन्छ- त्यसबेला युवाहरूले अग्रपंक्तिमा उभिएर देशको रक्षा गर्नु कर्तव्य हो, अपराध होइन। हामी हिंसा होइन, अनुशासनको पक्षमा ।’यूथ भोलेन्टियर्स फोर्स’ देशभक्त युवाहरूको प्रतिवद्धता हो। जनताको सेवा, शान्ति र स्थायित्वका लागि।’

नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा रास्वपाका रवि लामिछाने प्रधानमन्त्री बन्ने लोभमा त्यही पार्टीका नेताहरू हरि ढकाल, मनिष झा र ज्वाला सङ्ग्रौलाहरूले जेल तोड्ने अभियान चलाएर समाजमा आतङ्क मच्चाउन सहयोग पुर्‍याएको दाबी गर्नुभयाे।

नेता बस्नेत जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने बताउनुभयो । नेता बस्नेतले भन्नुभयो, ‘प्रहरीको मनोबल गिराउन बाले शाहका गलत हर्कत गर्ने टिमको प्रतिरोध गर्दै यूथ भोलेन्टियर्स फोर्सले नेपाल प्रहरी र प्रशासनको मनोबल उठाउने कुरामा भूमिका खेल्छ।’

नेता बस्नेतले कोही असुरक्षित व्यक्तिले प्रहरीलाई सूचना गर्दा कसैले जेनजीलाई भन्नु भन्ने र कोहीले हामीसँग केही पनि छैन भन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

‘त्यो दौरानमा १४ हजार कैदी भगाइँयो, १२ सय हतियारहरू अहिले फिर्ता भएका छैनन्, लाखौँ गोली लुटिएका तथा प्रहरीका बर्दीहरू खोसिएको र चौकी आक्रमण भएका छन्’, बस्नेतले भन्नुभयाे, ‘आज हाम्रो प्रहरी निरीह छ।’

उहाँले यो फोर्स नर्मल स्वयंसेवक नभएको भन्दै कालापानी र लिम्पियाधुरा समेत पुग्ने भन्दै लुटेराहरुलाई समातेर प्रहरीलाई बुझाउने बताउनुभयाे। ‘परिआए ट्याक्टरको पछाडि बाँधेर भएपनि यसले प्रहरीलाई पुर्याउँछ’, नेता बस्नेतले भन्नुभयाे ‘प्राकृतिक विपत्तिमा पनि यसले सहयोग गर्छ।’ फोर्स एमाले निकट युवा संघको स्वयंसेवक दस्ता हाे ।’