काठमाडौं-नेकपा एमालेको जनवर्गीय सङ्गठनका रूपमा ‘युथ भोलेन्टियर्स फोर्स’ थपिने भएको छ। आज भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो।
कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नि राधिका शाक्यको पनि सहभागी हुनुभएको थियाे।

युवा संघ नेपालका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताउनुभयो। नेता बस्नेतले भन्नुभयो, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’
युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएको नेता बस्नेतले बताउनुभयो। नेता बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन्। ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उहाँले भन्नुभयो।

युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उहाँले जानकारी दिनुभयाे। उहाँले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि सबै खालका अराजकता विरुद्ध युथ भोलेन्टियर्स फोर्सले काम गर्ने दाबी गर्नुभयो ।
युथ भोलेन्टियर्स फोर्स गठन भएसँगै एमालेका जनवर्गीय सङ्गठनको सङ्ख्या २४ पुग्ने भएको छ। यसअघि युवा, विद्यार्थी,महिलालगायत २३ वटा जनवर्गीय सङ्गठन रहेका थिए। नेकपा एमालेले जनवर्गीय सङ्गठनका रूपमा युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको थियो।









प्रतिक्रिया