काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको मुख्यमन्त्रीहरूसँगको भेटघाटमा मूलत पाँचवटा मुख्य विषय उठाउनुभएको छ।
पहिलो, उहाँले वर्तमान परिस्थितिमा निर्वाचन हुन सक्ने वातावरण नभएको उल्लेख गर्दै वातावरण बने मात्र निर्वाचन सम्भव हुने बताउनुभयो। गृह मन्त्रालयको असोज ७ गते गरेको परिपत्रले पनि निर्वाचनको वातावरण बन्न नदिएको, प्रहरीका हतियार फिर्ता नभएको, भागेका कैदीबन्दी पक्राउ नपरे उल्लेख गर्दै कार्कीले राजनीतिक संवाद बलियो नहुँदासम्म निर्वाचन सम्भव नहुने मा जोड दिनुभएको थियो।
दोस्रो, अहिलेको सरकारले विपदबाट प्रभावित कोशी प्रदेशको पुनर्निर्माणमा समन्वय र सहकार्यसहित ध्यान नदिएको भन्दै उहाँले प्रदेश पुनर्निर्माणमा संघीय सरकारको ध्यानाकर्षण गर्नुभएको छ।
तेस्रो, संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेशलाई ‘युनिट’ का रूपमा हेर्ने प्रयास गरेको र उसले जारी गरेको परिपत्र कानुन तथा संविधान विपरीत भएको धारणा मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो।
चौथो, सहकार्य र समन्वयलाई जोड दिँदै उहाँले प्रदेश र स्थानीय तहको कानुनी तथा संवैधानिक व्यवस्थालाई बुझेर मात्र अघि बढ्न संघीय सरकारलाई आग्रह गर्नुभएको छ।
पाँचौं, नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच देखिएको समस्या वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गर्नुभएको छ।
यी सबै विषयमा प्रधानमन्त्री सुशीला कार्कीबाट सकारात्मक प्रतिक्रिया आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगी व्यवसायीसँग आजै छलफल र वार्ता समेत हुनेछ।कानुन र संविधानबाहिर रहेर आएका परिपत्रहरू सच्याउने प्रतिबद्धता प्रधानमन्त्री र अर्थमन्त्रीले व्यक्त गर्नुभएको छ भने गृह मन्त्रालयलाई पूर्वाग्रह भन्दा माथि रहेर प्रभावकारी ढंगले परिचालन गर्ने विषयमा पनि प्रतिवद्धता आएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो।
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसग प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले यो छलफल बैठकलाई सकारात्मक र परिणाममुखी भएको टिप्पणी गर्नुभएको छ।







प्रतिक्रिया