काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरु नेकपा (एमाले)मा फर्कने सम्भावना रहेको संकेत गर्नुभएको छ। त्यसका लागि खनालले समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएकाे छ।
‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्वन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रुपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ’ नेता खनालले बताउनुभयो।
खनालले एमालेसँग एकता नभए पनि नयाँ बाटोमा अघि बढ्न आफू तयार रहेको बताउनुभयो। ‘हामी नयाँ ढंगले पुनर्गठित हुँदैछौँ। नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,’ नेता खनालले भन्नुभयो। हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसबाट नयाँ पार्टी, घोषणा पत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौँ।’
नेता खनालले देशको वर्तमान राजनीतिक संकटबारे निर्वाचन पहिलो विकल्प नभएको भन्दै संसद पुनःस्थापनाको बाटो उपयुक्त हुने बताउनुभयो।
नेता खनालले भन्नुभयो, ‘मुलुकमा विद्यमान संकट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन। मुलुकलाई संवैधानिक बाटोबाट अघि बढाउनका लागि निर्वाचन नभए संसद पुनःस्थापनाको बाटो उपयुक्त हुन्छ।’ सडक आन्दोलनभन्दा संवैधानिक प्रक्रियाबाट निकाश खोज्नुपर्ने नेता खनालको भनाइ छ ।
एमालेसँग एकताका लागि खनालले अगाडि सारेका सर्तहरू :
१) मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने- विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।
२) समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने- पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।
३) नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने- मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।
४) देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प- यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्ष हो।
उहाँले यी चार बुँदामा एकरूपता भएमा तत्काल वार्ता सुरु गर्ने स्पष्ट पार्नुभयो।







प्रतिक्रिया