नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताउनुभएको छ।
प्रेस चौतारी नेपालले २०८२ कात्तिक १७ गते सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो।
महासचिव पोखरेलले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरू एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाउनुभयो। उहाँले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरूलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरू एमालेविरुद्ध लागेको बताउनुभयो।
यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुपरेकाहरू र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरू नियोजित रुपमा एमाले विरुद्ध लागेको महासचिव पोखरेलको भनाई छ।
महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालमा ४ प्रकारका शक्तिहरू संगठित रुपमा लागिरहेका छन्। त्यसको सामाना गर्नुपर्छ भनेर हामीले भनेका थियौँ। ती चार प्रकारका शक्तिहरू पहिलो, बाह्य शक्ति, दोस्रो स्वभाविक रुपमा राजसंस्था पुनःस्थापनाको अभियानमा जुटेका र नेकपा एमाले नेतृत्वको सरकारका कारणले असफल भएका, उनीहरू एमाले र त्यसको नेतृत्वको विरुद्ध केन्द्रित छन् भन्ने हाम्रो निष्कर्ष थियो। तेस्रो शक्ति सरकारच्युत भएकाहरू नेकपा एमालेको नेतृत्वको विरुद्धमा नियोजित ढंगले परिचालित छन् भन्ने कुरा गरेका थियौँ। र चौथो शक्तिका रुपमा कथित स्वतन्त्र पार्टी र स्वतन्त्रका नाममा सामाजिक अराजकताका बाहक बनिरहेकाहरू नै एमाले र त्यसको नेर्तत्वको विरुद्धमा छन् किनकी पपुलिजम समस्याको समाधान होइन भनेर वैचारिक रुपमा प्रतिवाद गर्ने पार्टीका रुपमा एमाले भएको कारणले उनीहरू एमाले र त्यसको विरुद्धमा लक्षित छन्।’







प्रतिक्रिया