काठमाडौं–नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ। काठमाडौँस्थित प्रज्ञा-प्रतिष्ठानमा सचिवालय बैठक सुरु भएको हो।
बैठकले नेकपा एकीकृत समाजवादी लगायतसँग एकता गर्ने निर्णय अनुमोदन गर्ने छ। सचिवालय बैठक सकिएलगत्तै आयोजक समितिको केन्द्रीय समितिको पूर्ण बैठक पनि सोही स्थलमा बस्ने छ।
महाधिवेशन आयोजक समितिको बैठक नेता जनार्दन शर्माले बहिष्कार गर्नुभएको छ। शर्मासँगै सचिवालय सदस्य राम कार्कीले पनि बहिष्कार गर्नुभएको हो।
२०८२ असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले मंसिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर माओवादी, नेकपा एकीकृत समाजवादी सहित ८ वटा वामपन्थी घटकसँग एकता गर्ने घोषणा गरेपछि शर्मा असन्तुष्ट देखिएका थिए ।
विगत चार वर्षदेखि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस गर्दै आएका शर्माले विशेष महाधिवेशन टार्न संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेको आरोप लगाउनु भएको छ। बैठकमा सहभागी नभएका शर्मा समूहले ललितपुरमा छुट्टै पत्रकार सम्मेलन गरी ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गर्ने तयारी गरेका छन्।







प्रतिक्रिया