अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक दलहरू व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छ: प्रदीप ज्ञवाली

राजनीतिक दलहरू व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छ: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ।

राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै दल ?’ शीर्षकमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै उपमहासचिव ज्ञवालीले हालको राजनीतिक परिवेशमा प्रणाली सुदृढीकरण नै दीर्घकालीन समाधान हुने धारणा राख्नुभयो।

उपमहासचिव ज्ञवालीले भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई जनताको असन्तुष्टिको संकेतका रूपमा लिनुपर्ने बताउनुभयाे। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘त्यो आन्दोलनले देखाएको स्पिडलाई दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्छ। हामीले व्यक्तिमा होइन, सिस्टममा सुधार ल्याउनुपर्ने आवश्यकता छ।’

उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अंश भए पनि त्यसले हिंसात्मक रुप लिनु दुःखद पक्ष भएको बताउनुभयाे। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘त्यो आन्दोलन जेनजीको मात्र थिएन। शान्तिपूर्ण आन्दोलन र लोकतन्त्रप्रतिको दृढता जतिसुकै बलियो हुन्छ, समाज रूपान्तरणको यात्रा त्यति सहज हुन्छ।’

उपमहासचिव ज्ञवालीले २०८२ भदौ २३ र २४ गतेको घटनालाई क्रान्ति वा परिवर्तनको महिमामण्डन गर्नु गलत हुने टिप्पणी गर्नुभयो । उहाँले एमालेले अहिलेको पुस्ताको ऊर्जा र भावनालाई सकारात्मक दिशातर्फ अघि बढाउन प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘भदौ २३ र २४ गते ठूलो संख्यामा नवयुवाहरु सडकमा निस्किए । सुशासन र भ्रष्टाचार नियन्त्रणको माग सहित सडकमा आए । त्यसपछि के भयो त्यो बेग्लै कुरा हो । त्यो स्पिडलाई दलहरुले ध्यानमा राखेर हामीले व्यक्तिमा मात्र समाधान खोज्ने होइन । सबै कुरा सिस्टमले सुध्रिने हो । शान्तिपूर्ण आन्दोलन र लोकतन्त्रममा अहिलेको पुस्ता जति दृढ हुन्छ समाजको रुपान्तरणको यात्रा त्यति सहज हुन्छ। त्यो कुरा ध्यानमा राखेर नै एमालेले काम गरिरहेको छ। २३ गते अपरान्ह् र २४ गतेको दहनलाई क्रान्ति भनेर परिवर्तन भनेर त्यसको महिमा मण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन।’