अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलका नेताको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले निर्वाचन गर्नेमा आशंका छ: केपी ओली

दलका नेताको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले निर्वाचन गर्नेमा आशंका छ: केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताउनु भएकाे छ।

बिहीबार भक्तपुरको गुन्डुस्थित एक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक कार्य गरिरहेको बताउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाउनुभयाे।

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुन:स्थापनाको  माग गर्नुभयाे । उहाँले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जेन-जी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ‘ड्रामा’ गरेको भन्दै आयोगको निर्णय मान्य नहुने बताउनुभयाे ।

अध्यक्ष ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताउनुभयाे। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ। त्यसलाई बिथोलेर अपशव्द बोलेर लेखेर घृणा फैलाउनेहरूले धेरै अघिदेखि नै समाजलाई भताभुंग पार्न खोजे । ध्वस्त पार्न खोजे,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘२४ भदौको आगजनी घृणाको पराकाष्टा थियो । घृणा फैलाउँदै लगेर मान्छेलाई राक्षसमा परिणत गरेर आगो लगाइएको हो।’

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेशसमेत प्रधानमन्त्रीले उलंघन गरेको बताउनुभयाे। अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको समेत बताउनुभयाे।  झलनाथ खनाल आफूसँग कुरा गर्न आएको भन्दै उहाँले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताउनुभयाे।

पूर्वप्रधानमन्त्री ओलीले घृणा फैलाउने काममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि भूमिका रहेकोतर्फ इंगित गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘स्टाटस लेख्दा नेपालीले बोल्ने भाषा लेख्छ ? त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन । त्यो असामाजिकता हाम्रो संस्कृतिभित्र पर्दैन । हाम्रो परम्परा सभ्य, आदर हो । असहमति राख्दा पनि सम्मानजनक ढंगले राख्ने हाम्रो परम्परा हो ।अहिले त अपशब्द बोलेर सुरु गर्नेहरू छन् ।’

मेयर बालेनले केही दिनअघि मध्यरात आपत्तिजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। आलोचनापछि बालेनले आधा घण्टामै स्टाटस हटाएका थिए ।