बुटवल-नेकपा (एमाले)की सचिव पद्मा अर्यालले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रमलाई देशको लोकतान्त्रिक अभ्यासमाथिको प्रतिगमन र प्रतिक्रान्तिको रुपमा व्याख्या गर्नुभएकाे छ।
लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले सार्वभौम संसद् विघटन, जननिर्वाचित सरकार अपदस्थ र राज्यका अंगहरू निष्प्रभावी बनाइएको घटनालाई नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का भएकाे बताउनु भएकाे हाे।
“भदौ २३ र २४ को घटना केवल राजनीतिक निर्णय थिएनन्, ती घटनाले व्यवस्थापिका र कार्यपालिका दुबैलाई खरानी बनाए,” सचिव अर्यालले भन्नुभयाे, “यो अग्रगामी होइन, पूर्णतः पश्चगामी कदम हो।”
सचिव अर्यालले उक्त घटनाबाट मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको छ, जसले जनताको विश्वास कमजोर बनाएको बताउनुभयाे।
सचिव अर्यालले अहिलेको आन्दोलनलाई “पछाडि फर्काउने प्रयास” को रुपमा चित्रण गर्दै त्यसलाई प्रतिक्रान्ति भन्नुभयाे। “आजको आन्दोलनले मुलुकलाई अघि होइन, दशकौँ पछाडि फर्काउन खोजिरहेको छ,” सचिव अर्यालले भन्नुभयाे, “त्यसैले यस अवस्थामा कार्यकर्ता बहकिनु हुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक छ।”
सचिव अर्यालले कार्यकर्ताहरूमाझ राजनीतिक स्पष्टता र वैचारिक दृढताको आवश्यकता औंल्याउँदै भन्नुभयाे, “भदौ २३ गते दिउँसो १ बजेसम्मको आन्दोलन र त्यसपछि भएका घटनालाई फरक ढंगले बुझ्नुपर्छ। त्यो मोडबाट देशले जनताको अधिकार र संवैधानिक लोकतन्त्रमा ठुलो ह्रास देखेको छ।”
सचिव अर्यालले एमालेलाई लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एकमात्र शक्तिका रूपमा परिभाषित गर्दै सुशासन कायम गर्ने एजेन्डा पार्टीको मुख्य अभियान रहेको बताउनुभयाे। “हामीले जनतासँग गरेको वाचा सुशासन हो, जनजीविकाका मुद्दा उठाउने हाम्रो प्रतिवद्धता हो,” सचिव अर्यालले भन्नुभयाे, “एमालेले नै जनताको प्रश्नलाई संस्थागत रूपमा बोकेको छ।”
सचिव अर्यालले पार्टीभित्र संगठनात्मक एकता र राजनीतिक सचेतनाको सुदृढीकरणमा जोड दिँदै अहिलेको राजनीतिक परिस्थितिमा भावनामा होइन, विवेक र दृष्टिकोणमा आधारित भएर अघि बढ्न आग्रह गर्नुभयाे
बैठकमा उहाँले लुम्बिनी प्रदेशका जिल्ला कमिटी, जनसंगठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिँदै भदौ २३ र २४ को घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात् गर्नुपर्ने बताउनुभयाे। उहाँका अनुसार, “देशलाई पुनः स्थायित्व र समृद्धिको बाटोमा फर्काउने जिम्मा एमालेकै काँधमा आएको छ।”







प्रतिक्रिया