काठमाडौँ-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले परिस्थितिवश मङ्सिर मसान्तसम्म महाधिवेशन गर्न नसकिए पनि कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने बताउनुभएकाे छ।
शुक्रबार काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको अनौपचारिक छलफलमा आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने धारणा राख्नुभएको हाे ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु। अहिले समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’उहाँले भन्नुभयाे।
नेता कोइरालाले नेपाली कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भई अघि बढ्नुपर्ने बताउनुभयाे। पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै डा.कोइरालाले विगतमा पार्टीले थुप्रै आरोह अवरोह भोगेको स्मरण गराउनुभयाे । आगामी दिनमा एकता नै बल हो भन्ने भावनाअनुसार एक हुनुपर्ने र कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच राख्न नहुने नेता कोइरालाको भनाइ थियो ।
डा.कोइरालाले पार्टीमा एकता, मेलमिलाप चाहेको र गुट, उपगुट तथा फुटको अन्त्य गर्नुपर्ने बताउनुभयाे। देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका कार्यकर्ताहरुले पार्टीलाई बचाइरहेकाले सबैजना कांग्रेसको निर्णयको पर्खाइमा रहेकाले पार्टीले तत्कालै नयाँ निर्णय गर्नुपर्ने उहाँको जोड थियो ।







प्रतिक्रिया