काठमाडौं- प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा एमालेले आयोजना गरेको पालिका स्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउनका लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गर्नु भएको छ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुलाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झण्डा,व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिनुभएको छ । यसैगरी जनपरिचलनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न उहाँको निर्देशन छ । घनावस्ती भएका ठाउँमा जनसंख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलको भनाइ छ । यस्तै जनप्रर्दशनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको छ । जनप्रदर्शनका क्रममा भिडियो÷फोटोहरु सामाजिक सञ्जालमा ब्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरु आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन गर्नु भएको छ ।
एमालेको गत असोजक २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार हिजो कातिक २२ गते सबै वडाहरुमा एमालेले भेला सम्पन्न गरेको छ।
महासचिव पोखरेलले जनप्रर्दशनका लागि सात वटा नारा पनि सार्वजनिक गर्नुभएको छ। ती नाराहरू यस प्रकार छन्
– प्रतिगामी षड्यन्त्र मुर्दावाद
– विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर
– २३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर
– तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर।
– हत्या, हिंसा, आतंक बन्द गर
-नेकपा एमाले जिन्दावाद
– जनताको बहुदलीय जनवाद जिन्दावाद।







प्रतिक्रिया