काठमाडौं – जेनजी मुभमेन्ट अलाइन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि हुने निरन्तर प्रहार र बस्ती हटाउने कार्यको घोर निन्दा गर्दै, सम्बन्धित समुदायसँगको सहमति र उचित व्यवस्थापन अपनाइ समस्या समाधान गर्न काठमाडौं महानगरपालीकालाई आग्रह गरेको छ ।
अलाइन्सले काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र वैकल्पिक योजना नबनाई बस्तीहरूमा डोजर लगाउने तयारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ। उनीहरूले यसलाई नागरिकको अधिकार कुण्ठित गर्ने, उत्पीडन र भय सिर्जना गर्ने कदम भएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “भूमि अधिकार जनताको पहिचान, आवासीय प्रयोजन र उत्पादनसँग सम्बन्धित नैसर्गिक अधिकार हो। भूमिहीन र सुकुम्बासीहरूको समस्या राज्यले समाधान गर्नु अनिवार्य छ। ऐतिहासिक रूपमा सीमित वर्गको अधीनमा भूमि व्यवस्थापन र दलियकरणका कारण समस्या यथावत् छ।”
अलाइन्सले महानगरपालिकालाई सम्बन्धित समुदायसँग सहमति गरेर बस्ती व्यवस्थापन गर्न, निहत्था नागरिकमाथि दम्भ वा तिरस्कार नचलाउन र महानगरपालिकाले बस्तीहरूको यथार्थ विवरण सार्वजनिक गरी स्पष्ट तथ्यांक उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा नेपालको भूमि सम्बन्धी ऐतिहासिक प्रणाली, पुर्खौली थातथलोको अधिग्रहण र विकास आयोजनाका नाममा भूमि हडप्ने अभ्यासले नागरिकलाई लामो समयदेखि कष्ट पुर्याएको छ। यस सन्दर्भमा सबै पक्षको ध्यानाकर्षण र समाधान आवश्यक रहेको अलाइन्सले जोड दिएको छ।







प्रतिक्रिया