दाेलखा-नेकपा (एमाले) दोलखा जिल्ला कमिटीको नवौँ पूर्ण बैठक दोलखाको चरिकोटमा सम्पन्न भएको छ। हिजाे सम्पन्न उक्त बैठकले हालको राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै १४ बुँदे प्रस्ताव पारित गरेको छ।
बैठकले मुलुकको राष्ट्रियता, स्वाधीनता, गणतन्त्रको रक्षा र समग्र विकासमा नेतृत्व लिने एमालेप्रति दोलखा जिल्लाका जनताको गहिरो विश्वास रहेको निष्कर्ष निकालेको छ। २०८२ भदौ २३ र २४ गते देशमा देखिएको असामान्य परिस्थितिमा दोलखामा जनताको सचेतताका कारण कुनै ठूलो अप्रिय घटना हुन नपाएको भन्दै बैठकले जिल्ला जनतालाई धन्यवाद प्रकट गरेको छ।
बैठक अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। यसअघि कात्तिक २१ गते जिल्ला सचिवालय बैठक बसेर हालको राजनीतिक घटनाक्रमको समीक्षा गरिएको थियो भने कात्तिक २२ गते सम्पन्न पूर्ण बैठकले त्यसकै आधारमा आगामी योजनाहरू तय गरेको हो।
बैठकले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन, वर्तमान सरकारको रवैया, राष्ट्रिय राजनीति, जिल्लाको विकास, सुशासन, कृषि क्षति, वन्यजन्तु आक्रमण, नयाँ पुस्ताको सहभागिता लगायत विषयमा विस्तृत प्रस्ताव पारित गरेको छ।
बैठकले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन जिल्ला संगठन पूर्ण एकताबद्ध भएर लाग्ने निर्णय गरेको छ। महाधिवेशनका प्रतिनिधिहरू सर्वसम्मत ढङ्गमा चयन गरेर सकारात्मक सन्देश दिने प्रतिबद्धता समेत बैठकले जनाएको छ।
बैठकले वर्तमान सरकारलाई ‘प्रतिशोधी र षड्यन्त्रकारी’ प्रवृत्तिबाट सञ्चालित भएको आरोप लगाउँदै त्यसले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक प्रतिशोधका रूपमा दमन गर्न खोजेको ठहर गरेको छ। बैठकले ‘अध्यक्ष ओलीको हिँडडुल, वक्तव्य र राजनीतिक क्रियाकलापमा अवरोध पुर्याउने’ प्रयासको कडा विरोध जनाएको छ।
बैठकले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेतृत्व र एमालेको अभिभावकको रूपमा व्याख्या गर्दै उहाँकै नेतृत्वमा पार्टी र देशको राजनीतिक स्थायित्व सम्भव हुने निष्कर्ष निकालेको छ। ‘नेकपा एमालेको अभिभावकको रूपमा रहेको राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ’, बैठकको निर्णयमा उल्लेख छ।
बैठकले ‘अवैधानिक र अलोकतान्त्रिक’ तवरले विघटित प्रतिनिधिसभाको तत्काल पुनर्स्थापना गर्न माग गरेको छ।
बैठकले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन वर्तमान सरकारले नियोजित रूपमा गैरकानूनी रूपमा घोषणा गरेको भन्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्भव नहुने ठहर गरेको छ। भदौ २३–२४ का घटनामा संलग्न अपराधी अझै कारबाहीको दायरामा नआएकाले निष्पक्ष निर्वाचन वातावरण बनेको छैन भन्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकले ‘जनआधारविहीन साना दलहरूले घोषणा गरेको तथाकथित कम्युनिष्ट एकता’ लाई दिशाहीन र विसर्जनवादी भनेएको छ। बैठकको ठहरमा त्यो समूह आन्दोलन र सिद्धान्तबाट विमुख भई थाकेका जमातहरूको समूह मात्र हो। ‘देशको पछिल्लो राजनितिक घटनाक्रमपछि अस्तित्व समाप्त हुने दिशामा गईरहेका जनाआधार नभएका राजनितिक दलहरुले कम्युनिष्ट एकताको नाम दिएर घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी पूर्णत: विसर्जनवादी, दिशाहीन र आन्दोलन तथा क्रान्तिबाट भ्रमित र थाकेका जमातहरूको समूह मात्र हो भन्ने ठहर बैठकले गरेको छ’, जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टी निर्माणमा योगदान दिएर पछि पार्टीबाहिर रहेका सबै कार्यकर्तालाई पुनः एमालेमा फर्कन आह्वान गरेको छ। पार्टीले ससम्मान पुनः स्वागत र जिम्मेवारी व्यवस्थापनको तयारी रहेको जनाएको छ।
बैठकले दोलखाको दीर्घकालीन विकासका लागि चीनसँग जोड्ने लामाबगर नाका खुलाउने पहल गर्न माग गरेको छ। साथै, सुरूङमार्ग लगायतका अधुरा पूर्वाधार परियोजना अघि बढाउन र ‘समृद्ध दोलखा, सुखी दोलखाली’ को लक्ष्य पूरा गर्न सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।
बैठकले विपद्का कारण अवरुद्ध हुने बिपी राजमार्गको विकल्पका रूपमा रहेको चरिकोट–खाडीचौर सडक खण्ड तत्काल निर्माण गर्न माग गरेको छ। सडक जीर्ण हुँदा यातायात सञ्चालनमा समस्या आउँदा जनजीवन प्रभावित भएको बैठकको निष्कर्ष छ।
बैठकले स्थानीय तह, सरकारी कार्यालय र आयोजना क्षेत्रमा भइरहेको भ्रष्टाचार र स्रोत–साधन दुरुपयोगविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि सुरु गरिएको ‘भ्रष्टाचारमुक्त र सुशासनयुक्त जिल्ला अभियान’ लाई निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ।
भारी वर्षाका कारण अन्नबाली नष्ट भएकाले कृषकलाई तत्काल राहत उपलब्ध गराउन बैठकले स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेको छ।
गौरीशङ्कर संरक्षण क्षेत्र र वरपरका गाउँमा वन्यजन्तु आक्रमणका कारण जनजीवन त्रसित बनेको भन्दै बैठकले सम्बन्धित निकायलाई नियन्त्रण र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ।
बैठकले नवपुस्तालाई सम्बोधन गर्ने गरी सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका अवसर सृजना गर्ने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। युवा पुस्ताको भावना बुझ्दै स्थानीय स्तरमा रोजगारी र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिने बैठकले जनाएको छ।
भदौ २३ गतेको जनआन्दोलन प्रदर्शन र भदौ २४ गतेको अराजक भिडमा परी ज्यान गुमाउने सुरक्षाकर्मी तथा नागरिकप्रति बैठकले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बैठकले दोलखाको कालिञ्चोक क्षेत्रमा भएको केबलकार तोडफोडलाई ‘अपराधी र अराजक कार्य’ भन्दै तत्काल कानूनी कारबाहीको माग गरेको छ। त्यस्तै, एमाले नेता–कार्यकर्ताको सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहमाथि पनि कानूनी प्रक्रिया अघि बढाउन बैठकले जोड दिएको छ।
गौरीशङ्कर गाउँपालिकाको वडा नं. ९ स्थित यलुङ री हिमाल आरोहणका क्रममा मृत्यु हुनेप्रति बैठकले श्रद्धाञ्जली प्रकट गरेको छ। बेपत्ता पर्वतारोहीहरूको खोजी र घाइतेहरूको उपचारका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा शान्ति, विकास र सुशासनका पक्षमा एमाले दृढ प्रतिबद्ध रहेको बताउनुभएकाे छ । उहाँका अनुसार पार्टीले दोलखालाई ‘सशक्त संगठन र विकासको आदर्श जिल्ला’ बनाउन निरन्तर अभियान सञ्चालन गर्नेछ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इञ्चार्ज पार्वत गुरुङ लगायतका नेताहरुकाे सहभागिता थियाे ।











प्रतिक्रिया