काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २४ पछि प्रेस स्वतन्त्रतामा गम्भिर धक्का पुगेकोले त्यसका संरक्षण युवा संघले गर्ने बताउनुभएको छ।
एमालेनिकट युवा संघ नेपालको केन्द्रीय कमिटीकाे तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्ला दिनमा पत्रकार र सञ्चार माध्यमलाई माघ १९ भन्दा जटिल हुँदै गएको बताउनुभयो। ‘अहिले प्रेस स्वतन्त्रताको अवस्था नाजुक छ। माघ १९ मा पनि यस्तो थिएन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसबेला सम्पादकका पछि आर्मी लगाइन्थ्यो। समाचार वाचकको पछि आर्मी लगाइन्थ्यो। तर अहिले एउटै टेलिफोनको धम्कीले चार वटा आर्मी भन्दा बढी त्रास फैलाइएको छ।’
अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आफू लामो सयम लडेकोले आफ्ना विरुद्ध प्रचार गर्दा पनि कहिले कसैलाई नधम्क्याएको उहाँले बताउनुभयो। ‘मेरा विरुद्ध झुटै समाचार छापे पनि कसैलाई केही भनिएन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रले दिएको प्रेस स्वतन्त्रताको उपभोग गरे भनियो। तर अहिले अवस्था त्यस्तो छैन । सञ्चार क्षेत्र माथी ठुलो धम्की र त्रास छ। यो अवस्था लामो समय हामी रहन दिन्नौ।’

अध्यक्ष ओलीले पत्रकारहरुलाई ढुक्कसँग सञ्चारकर्म गर्न भन्दै कोही कतैबाट असुरक्षित महसूस भए युवा संघ नेपाललाई भन्न आग्रह गर्नुभएको छ। ‘तपाईंहरुलाई कोही कसैले धम्की दियो भने युवा संघ नेपाललाई भन्नु। तपाईंहरुको सुरक्षा युवा संघले गर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हात्ती हुँ भन्नेलाई भुसुना बनाउने क्षमता युवा संघसँग छ।’ अध्यक्ष ओलीले अहिलेको सरकार ब्याट्री सकिएको रोर्बोट जस्तो भएको बताउनुभयो। ‘ब्याट्रीले काम गरुन्जेल रोर्बोट चल्यो। यताउता गर्यो’ अध्यक्ष ओलीले भन्नुभयो ‘ब्याट्री सकिएपछि रोर्बोट जहाँको त्यही अडिएको छ।’
अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउने बताउनुभएको छ। उहाँले एमाले लामो समय देखि राष्ट्रिय शक्ति भए पनि अब निर्णायक राष्ट्रिय शक्तिमा बदल्नु पर्ने बताउनुभएको छ। ‘सरकारका नीतिमा एमाले छ, कार्यक्रममा एमाले छ’, अध्यक्ष ओलीले भन्नुभयो ‘राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई अब निर्णायक राष्ट्रिय शक्तिमा बदल्नु पर्दछ।’







प्रतिक्रिया