काठमाडौं- चार वर्ष अघि एमाले छोडेर माधवकुमार नेपाल समूहमा गएका नेताहरु आज एमालेमा फर्कदै हुनुहुन्छ।
एमालेले सञ्चालन गरेको ‘घर फर्क’ अभियान अन्तरगत समाजवादीका पूर्व सचिव रामकुमारी झाक्रीसहितका नेताहरू आज एमालेमा फर्कंन लाग्नुभएको हो।
‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’ उहाँले हिजाे सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमा जानकारी गराउनु भएको थियाे ।
नेताहरूलाई अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एमालेमा प्रवेश गराउने तयारी गरिएको छ। सो कार्यक्रम अहिले भइरहेको छ।
एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठसहित १ सय भन्दा बढी नेता एमाले फर्कने सूचीमा छन्।
काठमाडौँको कार्यक्रमपछि जिल्लामा पनि पार्टीमा फर्काउने अभियान चलाइने एमालेले जनाएको छ। फर्किएकालाई ११ औं महाधिवेशनमा सहभागी हुने प्रयोजनका निम्ति पार्टीले केही न केही व्यवस्था गर्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ। उहाँका अनुसार सदस्यता नवीकरण र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने छ।
नेकपा एकीकृत समाजवादीका पूर्वमन्त्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिनालगायतका नेता-कार्यकर्ता राष्ट्रिय सभागृहबाट एमालेमा फर्कदै हुनुहुन्छ।
२०७८ साल भदौ ९ गते एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका थिए। एकीकृत समाजवादी पार्टीसहित कात्तिक १९ गते बुधवार १० वाम मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको थियो ।
माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दा यो पार्टी ‘एकीकृत’ भने रहन सकेन।








प्रतिक्रिया