काठमाडौं- नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।
नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमै फर्किनु भएको छ।
राष्ट्रिय सभागृह, काठमाडौंमा कात्तिक २४ गते सोमबार एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उहाँहरू एमालेमा नै फर्किनु भएको हाे।
कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गर्नुभयो।
झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। २०८२ कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीबिच एकीकृत भएको थियो।
कार्यक्रममा एकीकृत समाजवादीमा लाग्नुभएका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाउनु भएको थियो।
सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायतलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो।
पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा एमालेमा फर्कनुभएको छ। कार्यक्रममा फर्किएका नेताहरूको नाम वाचन गरी सार्वजनिक गरिएको छ।
पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई संगठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गर्नुभएको छ। अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गर्नु भएकाे छ।
राष्ट्रिय सभा गृहमा आज देशभरबाट आएका नेता तथा कार्यकर्ताको उपस्थितिले हल खचाखच भरिएको थियो। कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झण्डाहरूले उत्सवमय वातावरण सिर्जना गरेका थिए।
काठमाडौँको कार्यक्रमपछि जिल्लामा पनि पार्टीमा फर्काउने अभियान चलाइने एमालेले जनाएको छ। फर्किएकालाई ११ औं महाधिवेशनमा सहभागी हुने प्रयोजनका निम्ति पार्टीले केही न केही व्यवस्था गर्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ। उहाँका अनुसार सदस्यता नवीकरण र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने छ।














प्रतिक्रिया