अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले फुटाउनु जीवनकै भूल थियो: किसान श्रेष्ठ

एमाले फुटाउनु जीवनकै भूल थियो: किसान श्रेष्ठ


काठमाडौं-नेकपा माओवादी केन्द्रसँग २०८२ कात्तिक १९ गते एकीकृत समाजवादीसहित १० वाम मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि सो एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादी नेता तथा तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताउनु भएको छ।

राष्ट्रिय सभागृह, काठमाडौंमा कात्तिक २४ गते सोमबार एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आत्मस्वीकृति भएको बताउनु भएको हो। 

नेता श्रेष्ठले कार्यक्रममा सम्बोधन गर्दै विगतमा विभिन्न कारणले पार्टीमा विभाजनको बाटो रोज्नु गम्भीर भूल भएको बताउनुभयो। ‘हामीजस्ता पार्टीमा फर्कन आएका साथीहरूको जीवनको यो सबैभन्दा सत्य र आत्मावलोकनको क्षण हो,’ उहाँले भन्नुभयो, ‘विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौँ, त्यो हाम्रो जीवनकै ठुलो भूल भयो, यो समयले पनि देखाइदिएको छ।’

नेता श्रेष्ठले पुनः एमालेको मञ्चबाट जनताको विश्वास जित्ने गरी समर्पणपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘हामी फेरि जनताको भरोसा जित्नेछौँ, राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौँ,’ उहाँले भन्नुभयो, ‘यो फर्काइ केवल राजनीतिक निर्णय होइन, यो त जनताको बीच फर्कने यात्राको सुरुवात हो।’

उहाँले देशभर आफूजस्ता धेरै कार्यकर्ता र नेताहरू पुनः एमालेमा फर्कने विश्वास पनि व्यक्त गर्नुभयो। ‘आज केही सय साथीहरू मात्र यहाँ जोडिनुभएको छ, तर म विश्वास दिलाउन चाहन्छु, यो अभियानको सुरुवातसँगै देशभर किसान श्रेष्ठजस्ता बाटो बिराएका धेरै कमरेडहरू पुनः पार्टीमा फर्किनेछन्,’ नेता श्रेष्ठले भन्नुभयो।

नेता श्रेष्ठले माधवकुमार नेपालकाे पछि लागेर आफूहरुले भुल गरेकाे बताउनुभयाे। ‘कलम पार्टी विसर्जन भयो, देशै भरिबाट एमालेमा फर्कौँ’, उहाँले भन्नुभयाे। 

मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै रहेको नेता श्रेष्ठले बताउनुभयाे। उहाँले भन्नुभयो, ‘गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित आफूहरू फर्किएको र कुनै माग, शर्त र चाहना नभएको प्रष्टीकरण दिएका छन् ।’

केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको भन्दै श्रेष्ठले ओलीले उठाएका राष्ट्रियता, विकास र सुशासनका मुद्दा नै आफूहरू घर फर्कनु आवश्यक छ भन्ने भावना जागृत भएको बताउनुभयो ।

‘आदरणीय केपी शर्मा ओलीज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो। आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठसहित एकीकृत समाजवादीबाट फर्कनुभएका नेताहरूलाई पार्टीको झण्डा प्रदान गरी स्वागत गर्नुभएको थियो। राष्ट्रिय सभा गृहमा आयोजित सो कार्यक्रम ‘घर फर्क अभियान’को औपचारिक शुभारम्भका रूपमा मनाइएको थियो।