अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेद्वारा ७५३ वटै पालिकामा जनप्रदर्शन (तस्बिरहरू)

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेद्वारा ७५३ वटै पालिकामा जनप्रदर्शन (तस्बिरहरू)


काठमाडौं-आज नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत ७५३ वटै पालिकामा जनप्रदर्शन गरिरहेको छ। संविधानको रक्षा र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरि जनपरिचालन कार्यक्रम गरेको हो।

एमालेका अनुसार आज बिहान ७ बजेदेखि नै प्रदर्शन सुरू भएको छ। प्रत्येक पालिकामा छुट्टाछुट्टै समयमा प्रदर्शन गर्ने नीतिअनुरूप केन्द्रीय नेताहरू परिचालित भएका छन्।

पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताउनु भयो।

उहाँका अनुसार २०८२ कात्तिक २२ गते देशका ६ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रस्ट पारिएको छ। यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

गौतमले दिएको आजको कार्यक्रममा कतिपय पालिकाहरुले मोटरसाइकल र्याली मार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम राखिएको छ ।

आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको हो। प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन दिएको छ। जनप्रर्दशनका तस्विर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरुमा पठाउन पनि एमालेले यस अघि नै निर्देशन गरेको थियो।

आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंम हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठकले वडा तहसम्मै जनपरिचालन गर्ने निर्णय गरेको थियो।