प्रकृति विचित्रको छ। संसारमा धेरै मानिस रोगका कारण दुःखी छन्। हावापानीसँगै फरक-फरक ठाउँका मानिसको व्यवसाय पनि फरक र आफ्नै शैलीको छ। व्यवसाय विना आजको युगमा मान्छे बाँच्न सक्दैन। सबैले प्रयोग गर्ने अन्नबाली, फलफूल र माछा, मासु पनि विषादीयुक्त छैनन्। मान्छे विषादीरहित खानेकुरा खान चाहन्छ तर अहिले त्यो सम्भावना पनि मानिसको नियन्त्रणभन्दा बाहिर पुगिसकेको छ।
हरेक मानिस एउटा न एउटा रोग शरीरमा बोकेरै हिँडिरहेको हुन्छ। रोगबाट मुक्ति पाउन मानिसले करोडौँ खर्च गरेका हुन्छन्। तर मान्छेले चाहेअनुसार मुक्ति पाउन कसैले सकेका छैनन्। अहिलेको परिवेशमा रोगबाट मुक्ति पाउनु नै मानिसको पहिलो चाहना हुन्छ। आम मानिसको यो चाहना पूरा गर्ने अथक प्रयास गरेका छन् स्वास्थ्य क्षेत्रका धरोहर, दमकस्थित रिता होमियो क्लिनिक सेन्टर दमकबाट सेवा दिइरहेका डा.लेखनाथ न्यौपानेले।
आम मानिसहरूको यो चाहना पूरा गर्ने उद्देश्यले अथक मेहनतबाट करिब तीन दशक लामो अध्ययन र अनुभवपछि तयार पारिएको डा. न्यौपानेको ‘स्वस्थ जीवन’ नामक पुस्तक यति वेला बजारमा आएको छ।
पुस्तक पढ्दै जाँदा यस पुस्तकले दूर दराजका पाठकलाई पनि सामान्य रोगबारे नि:शुल्क ज्ञान दिई ठूलो सेवा गर्न सक्ने अधिक सम्भावना देखिन्छ। नेपालका कतिपय गाउँहरू यस्ता पनि छन् जहाँका मानिसले कहिल्यै डाक्टर देखेका छैनन्। आफूलाई के रोग लागेको छ भनेर भन्न नसक्ने अवस्थामा रहेका मानिस पनि भेटिन्छन्। यस्तो अवस्थामा रहेको ग्रामीण क्षेत्रका बिरामीहरूको पनि यो पुस्तकले घरमा नै बसेर होमियोप्याथी पद्धति अपनाएर सरल तरिकाले उपचार गर्न सहयोग पुर्याउने सत्यतामा कसैको फरक मत रहन्न जस्तो लाग्छ।
यो पुस्तक पढ्दै जाँदा स्वास्थ्य जीवन (होमियोप्याथि चिकित्सा) पुस्तक लेख्नुको प्रमुख उद्देश्य रोग के हो ? र यसको उपचार विधि कस्तो हुन्छ ? भन्ने विषयमा सर्वसाधारणले बुझ्ने गरी समस्या र समाधान दुवै पक्षलाई केलाएर पाठकसामु पुर्याउनु हो भन्ने लाग्छ।
मान्छेले जीवनमा उपयोगी स्वास्थ्य पुस्तक पढेर र बुझेर सहज उपचार लिन सकुन भन्ने मनसाय लेखकको रहेको पाइन्छ। होमियोप्याथिक चिकित्सा पद्दतिमा फरक-फरक रोगका फरक-फरक उपचारहरु, खानपानको सचेतना, अन्नबाली र फलफूलहरु खाने तरिका, घरमा बनाइने विभिन्न परिकारहरु खाने तरिका र खानेकुराबाट प्राप्त हुने क्यालोरी, क्याल्सियम लगायत भिटामिनहरुले शरीरलाई कस्तो फाइदा पुर्याएको हुन्छ र खानेकुरा खान जानिएन भने शरीरमा कस्तो किसिमको रोग निम्तिन्छ भन्ने कुरालाई केर्षा केर्षामा केलाइएएको छ। साथै खानपानमा ध्यान दिन नजान्दा यसले पुर्याउने असरलाई पनि लेखकले यस पुस्तकमा अनुभवसहित प्रस्तुत गरेका छन्।
एउटा पाठ पढेपछि अर्को पाठ र त्यसपछि अर्को पाठ गर्दागर्दै पुस्तक सबै नछिचोलेसम्म पुस्तक बन्द गर्न मन लाग्दैन। पुस्तकका कतिपय विषयहरुमा रोग निवारणहरु सम्बन्धि दिएका उदाहरणहरुले लेखकको प्राकृतिक चिकित्सासम्बन्धि अनुभव र बिरामीको अवस्था हेरेर उपचार गर्ने विधिलाई मसिनो गरी व्याख्या गरिनुका साथै उदाहरण दिएर प्रष्ट्याउन भरपूर कोशिस गरेको पाइन्छ। जसले पाठकलाई यति मजाले घोत्ल्यिाउछ कि पढ्दै जाँदा टेवलमा राखेको चिया पिउन पनि बिर्सिन्छ।
करिब ३ दर्जनभन्दा बढी विषयहरुमा छुट्टा छुट्टै उपचार पद्धति र लक्षणहरुसहितको उपचार विधिका बारेमा यस पुस्तकमा बताइएको छ। यो पुस्तक पढेर आफुमा भएका विभिन्न रोगहरुको जानकारी लिनुका साथै उपचारका बारेमा अन्य जानकारी लिन र सचेतना अपनाउन यो पुस्तक उपयोगी देखिन्छ।
होमियोप्याथिक सम्बन्धि उपचारविधिमा विशेष जोड दिएर लेखकले होमियोप्याथिक चिकित्सा केहो ? औषधीले कसरी रोगी निको पार्छ ? औषधी के-के बाट कसरी बन्छ ? कुन आधारमा बिरामीलाई औषधी दिने ? रोगका कारण र उपचारविधि होमियोप्याथीमा अरुभन्दा फरक के छ ? होमियोप्याथिक औषधी सेता दानामा नै किन दिइन्छ ? औषधीको डोज, नेपालमा यसको विस्तारलगायत विषयहरुमा बेग्लाबेग्लै तरिकाको उपचारविधि सहित पाठकको चित्त बुझ्नेगरी यस पुस्तकमा उतारिनुले बिरामी र पाठक दुवैको लागि अभ्यस्त र विश्वसनीय नमूना संग्रहको रुपमा यो पुस्तकलाई लिन सकिन्छ।
यस्तै लेखकले अन्य विषयहरुमा छालासम्बन्धि बाह्य रोग, ग्यासष्ट्रिक, अल्सर, निन्द्राको समस्या, बाथरोग, ढाड कम्मर दुख्ने र नशा च्यापिएको, मुसा र खिलको सरल उपचार, पथरिया र पिसाब संक्रमणमा होमियोप्याथिको भूमिका, यौन कमजोरीमा होमियोप्याथिको प्रभाव, मृगौलाको समस्या, नाक, कान र घाँटीको समस्या हुँदा के गर्ने ? स्वाशप्रश्वासका बिरामीमा हुने लक्षण र उपचारविधि, जेष्ठ नागरिकलाई लाग्न सक्ने विभिन्न रोगहरु र होमियोप्याथि उपचार पद्धतिको बारेमा सर्वसाधारणले सरल भाषामा बुझ्ने गरी यस पुस्तकमा उतारिएको छ। यसैगरी स्त्रीरोगमा होमियोप्याथि, बालबालिकामा लाग्न सक्ने रोग र उपचारविधि, मानसिक समस्या र छालासम्बन्धि रोगको उपचारविधि, आँखाको समस्यादेखि क्यान्सरसम्मको समस्या हुँदा होमियोप्याथि पद्धतिबाट उपचार गर्न सकिने तरिकाहरु र रोगबाट बच्ने उपायहरुसमेत व्याख्या गरिएको यो पुस्तक प्रत्येकका घरमा एक-एक वटा सँधैभरी रहनेगरी संग्रह गर्नुपर्ने अवस्थासम्म पाठकलाई उत्प्रेरित गर्न लेखक सफल भएको महशुस हुन्छ। यसको मतलब यो कि लेखकले होमियोप्याथी उपचारविधिले सजिएको औषधीको पहाड नै पस्किदिएका छन्, अब कति सदुपयोग गर्ने त्यो तपाईँ विरामी र पाठकमा भर पर्छ।
लेखकले होमियोप्याथी औषधीहरु गाउँघरमा पाइने जडिबुटीबाट बनेका हुन्छन्। वनस्पतिमा पाइने विभिन्न प्लान्टहरु औषधीका मूख्य स्रोतहरु हुन्। होमियोप्याथि औषधीहरु गुण र घुलनशीलताका आधारमा तयार पारिन्छ भनेका छन् भने यस पद्धतिबाट बिरामीलाई पीडारहित उपचार दिन सकिने, बिरामीको लक्षण, स्वभाव र निन्द्रा, इच्छा, चाहना, रिस, डर, प्रेम, भावना आदि हेरेर नै डिटेल जानकारी लिन सकिने र सोही अनुसार बिरामीलाई कष्ट नभइकन र औषधी खाएको महसुस नभइकन क्रमिक रुपमा उपचार हुने पद्धतिको रुपमा लेखकले होमियोप्याथि उपचारलाई मसिनो गरी व्याख्या गरेका छन्।
प्रस्तुत कृतिमा होमियोप्याथी औषधीले कठिनभन्दा कठिन पक्ष घात सहजै निको पार्न सक्छ । मस्तिष्क घातमा मस्तिष्कमा जमेको रगत फटाउन होस या आँखामा जमेको रगत फटाउन या अन्य भागमा जमेको रगत फटाउनसमेत उपयोगी हुने कुरा लेखकले ‘आँखाको समस्यामा होमियोप्याथी शीर्षक’मा लेखेका छन्। लेखकले अन्त्यमा ‘जाँदाजाँदै पढौं र मनन् गरौ’ भनेर धेरै विषयवस्तुहरू मानिसमा भइरहने विभिन्न रोगहरू र यसको सरल उपचार विधिका बारेमा बताएका छन् । यो विषय पनि बिरामी या बिरामी नभएकाहरूले पनि पढ्न सके जीवनका हरेक उतार चढावहरुमा प्रयोगमा ल्याउन सकिने सरल र व्यवहारिक मान्छेहरूलाई पनि जीवन उपयोगी हुने देखिन्छ।
सन् १७९६ मा जर्मनीबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्दति संसारका सबै देशमा फैलिएको छ। सुरक्षित चिकित्सा पद्दतिका रुपमा फैलिनु यो चिकित्सा विज्ञानको राम्रो पक्ष हो। यो विज्ञानमा रोगका कारण ब्याक्टेरिया, भाइरस, फंगस या कुनै परजिवी मात्र मानिदैन। रोगको मुख्य कारण भनेको त हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताको कमी हुनु हो। पुस्तकमा भनिएको छ।
यो पुस्तकको बारेमा डा. प्रा.गोविन्दराज भट्टराई, प्रा.डा. भीम खतिवडा, लेखक पत्रकार दामोदर न्यौपाने, लेखक एवम् सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गाना र साहित्यकार तथा कवि विष्णु न्यौपानेले पुस्तकको प्रशंसा र प्रकाशन सफलताको शुभकामना लेखेका छन् भने ‘सरल र सहज उपचार खोजिरहनुभएका आरोग्य चाहनुहुने र जिज्ञासुमा समर्पित’ यो पुस्तक भूँडीपुराण प्रकाशनले छापेको हो। १५७ पृष्ठ रहेको यो पुस्तकको मूल्य ३९० रुपैयाँ मात्र रहेको छ।
डा. न्यौपानेले ‘स्वास्थ्य जीवन’बाहेक सरल होमियोप्याथी चिकित्सा प्रणाली, छोरा उपन्यास, हराएका अनुहार कथा सङ्ग्रह, स्वस्थ कसरी रहने लेख सङ्ग्रह, मेरो देश लगायत पुस्तकहरू प्रकाशन गरी पाठकसामु पुर्याइसकेका छन्। विभिन्न रोगसम्बन्धी जानकारी र उपचार विधि सहितका १५ सय बढी लेख रचनाहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएका छन्। अहिले पनि लेखकको कलम जीवितै छ। ‘स्वास्थ्य जीवन’ (होमियोप्याथि चिकित्सा) नामक पुस्तकसहित आगामी दिनहरूमा पनि यस्तै आम मानिसको भरोसायोग्य पुस्तकको अपेक्षासहित लेखन यात्रा सफलताको शुभकामना।







प्रतिक्रिया